चुलबुल स्वस्तिमा 'बुलबुल' पछि गम्भीर

स्वस्तिमा खड्का। तस्बिरः निशा भण्डारी/सेतोपाटी

बुलबुलमा रणकलाले चलाउने टेम्पो नम्बर।

गैरीधाराको 'स्टेसन फाइभ'मा स्वस्तिमा खड्कालाई केही बेर कुर्दै गर्दा उनी त्यही टेम्पो चलाउँदै आउँदैछिन् कि झैं लागिरहेको थियो। दिमागबाट कुर्तासुरुवाल लगाएकी रणकलाको छवि हटेकै थिएन। त्यही बेला उनी 'बुलबुल'को धङधङी हटाउने 'गेटअप'मा झुल्किइन्।

फिक्का सुन्तले टिसर्ट र निलो ग्रन्ज जिन्समा। त्यसै उज्याली स्वस्तिमा, एकपछि अर्को सफलताको चमकले झनै हँसिली देखिइन्।

दस करोड 'युट्युब हिट' नाघिसकेको 'कुटुमा कुटु' गीतको लोकप्रियतापछि उनको सफलताको 'ग्राफ' उक्लेको उक्लै छ। 'बुलबुल'को अभिनयका लागि सार्क फेस्टिभलको जुरी अवार्ड र राष्ट्रिय पुरस्कारसमेत हात पारेपछि त धेरैले उनलाई 'नम्बर वन' अभिनेत्रीको पगरी समेत गुथाइदिए।

'चुलबुल' छविमा रमाइरहेकी स्वस्तिमालाई बुलबुलको सफलताले गम्भीर बनाउन थालेको छ।

'बुलबुलपछि हौसला बढेको छ। मबाट राम्रो कामको अपेक्षा राख्नेहरूको संख्या थपिएको छ। कलाकारका लागि यो चुनौती पनि हो,' उनले भनिन्।

स्वस्तिमाका लागि बुलबुलको कथाको बीऊ यही स्टेसन फाइभमै रोपिएको थियो। सिनेमाका कथा, पटकथा र सिने व्यवसायका खुराक साट्ने अड्डा हो स्टेसन फाइभ। यहाँ कफीको चुस्की र चुरोटको सर्कोसँगै सिने क्षेत्रका साना–ठूलो, राम्रा–नराम्रा सबै गफ हुन्छन्। फरक 'आइडिया' फुराउने कसरतमा लागेका धेरै नयाँ-पुराना अनुहार भेटिन्छन् यहाँ।

स्वस्तिमाका श्रीमान् निर्देशक निश्चल बस्नेत स्टेसन फाइभका पाँच सेयर होल्डरमध्येका एक हुन्। स्वस्तिमा अक्सर यहाँ आइराख्छिन्। उनले जानकारी दिइन्, 'विनोद दाइले बुलबुलको स्क्रिप्ट पढ्न दिएको यहीँ हो।'

स्वस्तिमालाई 'साँघुरो' सिनेमाको कथावस्तु निकै मन परेको थियो। 'साँघुरो' लेखककै कथामा काम गर्ने प्रस्तावले उनलाई रोमाञ्चित बनायो।

प्रकाशित मिति: : 2019-08-09 08:34:31

प्रतिकृया दिनुहोस्