बैंकको ऋण शाखामा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण सम्पत्ति शुद्धीकरणले माग्यो

फाइल तस्बिर: नेपाल लाइभ

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा संलग्न अधिकारीहरुको विवरण मागेको छ। सम्पत्ति शुद्धीकरणको दृष्टिकोणबाट जोखिमयुक्त क्षेत्रमा ऋण प्रवाह भइरहेको आशंकमा विभागले सम्पूर्ण बैंकका त्यस्ता अधिकारीहरुको विवरण माग गरेको हो। 

नेपालमा सम्पत्ति शुद्धीकरणका लागि जोखिमपूर्ण मानिएको घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुबाट अधिक ऋण प्रवाह भएको र त्यस्तो ऋण प्रवाह गर्दा जोखिमको उपयुक्त मूल्यांकन नभएको विभागको आशंका छ। विभागले बैंक तथा वित्तीय संस्थाको कर्जा विभागमा रहेका अधिकारी र प्रमुख कार्यकारी अधिकृतसम्मको विवरण माग गरेको हो। 

'कुनै खास विषयवस्तुभन्दा पनि कर्जा प्रवाहमा संलग्न बैंकका अधिकारीहरुको विवरण संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरिएको हो,' विभाग स्रोतले भन्यो, 'हामीले नियमित कामअन्तर्गत नै यो गरेका हौं।'  

बैंक तथा वित्तीय संस्थाले खराब धितोमा ऋण प्रवाह गरी अवैध कारोबारलाई वैध बनाउन सहयोग गरेको आशंका विभागले गरेको हो। नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाइ तथा विभागबीच भएको छलफलमा सम्पत्ती शुद्धीकरणमा सहयोग पुग्ने गरी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भइरहेको विषयले प्रवेश पाएपछि विभागले पत्र पठाएको स्रोतले दाबी गरेको छ। 

'बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह भएकामध्ये केही ठूला फाइलको पनि अध्ययन गरिरहेका छौं, अहिले मागिएको विवरणले त्यसलाई पनि थप सहयोग पुर्‍याउँछ भन्ने हाम्रो विश्वास हो,' स्रोतले भन्यो। 

सम्पत्ति शुद्धीकरणले पठाएको पत्रका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच अनौपचारिक कुराकानीसमेत भइसकेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिपछि जारी गरेको परिपत्रका विषयमा छलफल गर्न बुधबार केन्द्रीय बैंक पुगेका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच यो पत्रका विषयमा छलफल भएको हो। 

सम्पत्ति शुद्धीकरण सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत नेपालको मूल्यांकन अर्को वर्ष हुँदैछ। त्यसको पूर्वसन्ध्यामा सम्पत्ति शुद्धीकरणको जोखिमका क्षेत्र पहिचानका क्रममा विभागले वित्तीय क्षेत्रबाट ऋण प्रवाहमा संलग्न हुने अधिकारीहरुको विवरण माग गरिएको हो। 

सन् २०२० मा हुने मूल्यांकनमा नेपालको स्थिति बलियो देखाउन विभागले फरकफरक क्षेत्रबाट यससँग सम्बन्धित सूचना संकलन गरी विश्लेषण गरिरहेको छ। 'जोखिम क्षेत्र पहिचानका क्रममा हामीले विवरण पठाउन भनेका हौं,' स्रोतले भन्यो। 

प्रकाशित मिति: : 2019-08-08 16:22:53

प्रतिकृया दिनुहोस्