कानुन निर्माताकै यस्तो चाला

तस्बिरः राजधानी

१० नियम, ६ उल्लंघन

काठमाडौं । संघीय कानुन निर्माणको थलो संघीय संसद्मा सांसदले नै नियम पालना गर्ने गरेका छैनन् । कानुन निर्माण गर्ने थलोमा रहेका सांसदहरूले नै कानुनको धज्जी उडाउने गरेको पाइएको छ ।संघीय संसद्का दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा सांसदहरूले आफूले पालना गर्नुपर्ने नियम नै पालना गरेको पाइँदैन । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ४ मा रहेको ‘बैठकको कार्यविधि’मा सांसदले पालना गर्नुपर्ने नियम स्पष्ट रूपमा उल्लेख गरिएको छ । उल्लेख गरिएको नियममध्ये अधिकांश नियम सांसदले पालना गर्ने गरेका छैनन् । नियमावलीको दफा २० मा बैठकमा पालना गर्नुपर्ने नियम उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाले नै आफूलाई नियमसंगत बनाउने गरी तयार पारेको नियमावली नै सांसदले उलंघन गर्नुले सदनप्रतिको आस्था नै गुम्ने अवस्था आएको विज्ञ बताउँछन् । सांसदले संसदीय सर्वोच्चता कायम गर्नुपर्ने माग राखिरहेका हुन्छन् तर उनै सांसदहरूले संसदीय पद्धतिलाई बलियो बनाउने नियम नै पालना नगर्नु विडम्बना भएको संविधानविद् डा. विपिन अधिकारी बताउँछन् । ‘संसद्को नियमित कामकारबाहीमा भाग लिएर आफ्ना कुरा भन्ने र निर्णय प्रक्रियामा सहभागी बन्नु नै संसदीय सर्वोच्चता हो,’ उनले भने, ‘संसद् सदस्यले नै आफूले बनाएको नियम पालना नगर्ने हो भने बनेका कानुन कार्यान्वयनमा समेत असर पर्न सक्छ ।’

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

संसद्लाई विशेष महŒवको साथै छलफल गरी कानुन निर्माण गर्ने विषयमा संयम हुन नसकेको संविधानविद् नीलाम्बर आचार्य बताउँछन् । नेपालमा संसदीय सर्वोच्चता कायम गर्न सत्तारूढ दल, प्रतिपक्षी र सभामुख तीनै पक्ष चुकेको उनले बताए । ‘हाम्रोमा केही वर्षदेखि प्रतिपक्षी दलले संसद् अवरोध गरेर आफ्नो दृष्टिकोण कायम गराउने प्रचलन चलेको छ,’ उनले भने, ‘सरकारले पनि संसद्ले गरेको कामकारबाहीलाई सहज बनाउनेभन्दा पनि सदनको निर्देशनलाई उपेक्षा गर्दा समस्या उत्पन्न हुँदै आएको छ।’
संसद् बैठक सञ्चालन हुँदा पालना गर्नुपर्ने नियम संसद्ले नै सर्वसम्मतबाट पारित गरेको हो । आफूले पारित गरेको नियमावलीमा पालना गर्नुपर्ने १० नियम समावेश गरिएका छन् । १० नियममध्ये ६ नियम सदनमा पालना भएको देखिँदैन । जसमा बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्षा छाड्नुपर्ने नियम भए पनि सभामुख नस्किदै सांसद उठेर बाहिर निस्कने गर्छन् । ‘सभामुखले बैठकलाई सम्बोधन गरिहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने’ नियम छ तर संसद्मा सभामुखले बोल्दा नाराबाजी गर्ने गरेको पाइएको छ । ‘सभामुखको आसन तथा बोलिरहेका सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्युँ फर्काएर बस्न नहुने’ नियमविपरीत सांसदहरूले उठेर विरोध गरिहेको पनि संसद्मा देखिँदै आएको छ ।

प्रकाशित मिति: : 2019-08-08 07:11:19

प्रतिकृया दिनुहोस्