कार्यभार सम्हालेदेखिको मेयर-उपमेयर विवाद झडपसम्म, छुट्टाछुट्टै कार्यालय स्थापना

जनकपुर- देश संघीयतामा गइसके पनि स्थानीय तहमा देखापर्ने विवाद साम्य हुन सकेका छैनन्। जनप्रतिनिधिमाथि लाग्ने विभिन्न आरोपले पनि कामकारबाहीले गति लिन नसकेका थुप्रै उदाहरण छन्। कतिपय ठाउँमा मेयर र उपमेयरका विवाद पनि सतहमा आइसकेका छन्। जनकपुरको एक नगरपालिकामा त यतिसम्म भयो कि दुवैको विवादले उग्र रुप लिँदा झडपकै अवस्था सिर्जना भयो। उपमेयरसहित ६ जना स्थानीय घाइते भए।

कार्यालय कहाँ राख्ने भन्ने मुख्य विवादमा हंसपुर नगरपालिकामा मंगलबार झडपको अवस्था सिर्जना भएको हो। यहाँका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले छुट्टाछुट्टै कार्यालय सञ्चालन गर्दै आएका छन्। स्थानीय तह निर्वाचनको केही दिनपछि नै मेयर-उपमेयरबीच विवाद सुरु भयो। जबकि उनीहरु दुवै राजपाबाट नै निर्वाचित जनप्रतिनिधि हुन्।

मेयर मण्डलले हंसपुरको बेल्ही चोकमा कार्यालय सञ्चालन गरेका छन् भने उपमेयर झा बघचौडास्थित साबिकको कार्यालयमा बसेर कार्य सम्पादन गर्दै आइरहेकी छिन्। कार्यालय बेल्ही चोकमा लगिए पनि मेयरले बोर्डमा भने बघचौडा नै लेखेका छन्।

प्रकाशित मिति: : 2019-08-07 17:23:22

प्रतिकृया दिनुहोस्