धर्मदेखि औषधिसम्म यसरी उपयोगी बनेको छ सर्प

नेपाली हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको विशेष पूजा हुन्छ।

भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ। साथै समुद्र मन्थन गर्दा वासुकीनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ।

प्रकृतिमा सर्पको विशेष महत्त्व रहेको आधुनिक वैज्ञानिकहरूले औँल्याएका छन्। 

यही सन्दर्भमा जीवशास्त्री करनबहादुर शाहले बीबीसी संवाददाता फणीन्द्र दाहालसँगको कुराकानीमा सर्प कसरी मानवजातिका लागि उपयोगी र महत्त्वपूर्ण छ भन्ने बताए। 

नेपालमा ८० प्रजाति

संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन्। 

नेपालमा अहिलेसम्म ८० प्रजातिका सर्पहरू फेला परेका छन्। तर पर्याप्त अध्ययन भए नेपालमा पाइने सर्पका प्रजाति लगभग डेढ सय पुग्न सक्छ। 

सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। 

अनि मान्छेको ज्यान जोगाउने महत्त्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन्।

आहाराचक्रको सन्तुलन

सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो। 

अहिलेसम्म कुनै पनि शाकाहारी सर्प छैनन्। यिनीहरूले अरू जीवजन्तुलाई जिउँदै मारेर खाने गर्छन्। 

प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पले भूमिका खेल्छन्। 

उदाहरणका लागि मानिसहरूले बारीमा लगाएको अन्न वा घरमा भण्डारण गरेको अन्न वा फलफूलको ठूलो भाग नाश गर्ने मुसा। 

वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन्। एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन्।

मुसाको नियन्त्रणमा सर्पले धेरै ठूलो भूमिका खेलेको हुन्छ। धेरै सर्पको मुख्य आहारा मुसा हो। 

दुलोबाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी खोजी मुसाहरू मार्छ। 

सर्पको आहारा सर्प

सानोमा भ्यागुतादेखि लिएर ठूलोमा बँदेल र चित्तलसम्मलाई अजिङ्गर सर्पले खाने गर्छन्। 

सर्पले नखाने जीव नै छैन। सर्पले सर्प नै खाने पनि हुन्छ। 

राजगोमन भन्ने सर्पको मुख्य आहारा नै सर्प हो। काठमाण्डूमा नै आठ-नौ ठाउँमा राजगोमन देखिइसकेको छ। 

प्रकाशित मिति: : 2019-08-05 17:12:00

प्रतिकृया दिनुहोस्