भक्तपुरका स्कुलमै 'जुजुधौ कक्षा'

भक्तपुरका स्कुलमा विद्यार्थीहरू अहिले नयाँ विषय पढ्न थालेका छन्। पाठ्यक्रमअनुसार कक्षा ६ मा समावेश विषय साताको पाँच घन्टी पढाइ हुन्छ। र, यो विषय पढाउन शिक्षक-शिक्षिकाका साथै भक्तपुरका स्थानीयले विद्यार्थीलाई सघाउनेछन्। विद्यार्थीहरूको अधिकांश कक्षा टोल—टोलमा हुनेछन्।

गाउँ घुमेर स्थानीयसँग पढ्ने कस्तो विषय भन्नुहोला?

यो विषय हो, जुजुधौ बनाउने।

भक्तपुरको परम्परागत शैलीमा दही बनाउने कला सिकाउने विषय नगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रममा राखेको छ। पाठ्यक्रम नेतृत्वमा रहेका जेन्युन स्कुलका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेँका अनुसार लोप हुँदै गएको भक्तपुरका क्रियाकलापहरू सम्बन्धी विषय पाठ्यक्रममा थपिएका छन्। यिनैमध्ये जुजुधौ एक हो। ‘जुजुधौको मौलिक अस्तित्व गुम्दै गएको छ। नयाँ पुस्ताले यसको परम्परागत शैली र स्वाद नै भुल्ने अवस्था आइसक्यो,’ बिजुक्छेँले भने, ‘जुजुधौ भक्तपुरको पहिचान हो, संस्कृति हो। यसको जगेर्ना गर्न नयाँ पुस्तामा हस्तान्तरण होस् भनेर विषयका रुपमा अघि बढाइएको हो।’ उनका अनुसार यसरी विषयमै समावेश गरिएपछि मौलिक कला र सीपहरू सबै विद्यार्थीले सिक्दै जान्छन्। भोलिका दिनमा उनीहरूका लागि यिनै सीप जीवन निर्वाह गर्ने बाटा पनि हुनसक्छन् भन्ने विश्वास उनलाई छ।

केही समयअघि भक्तपुरको बाल विकास स्कुलले कक्षा ६ का विद्यार्थीलाई जुजुधौ बनाउने प्रशिक्षण दिएको थियो। स्थानीय डेरी–पसलमा विद्यार्थीहरू लगेर उनीहरूलाई परम्परागत शैलीमा जुजुधौ बनाउने तरिका सिकाइएको थियो।

पकाएको दूध माटाको भाँडामा हाल्ने र त्यसमा ‘जोरन’, अर्थात् दहीको बीउ मिसाएर भाँडालाई भुसमाथि राखेर कपडाले छोपी जुजुधौ बनाउने तरिका प्रशिक्षण कक्षामा देखाइएको थियो। विद्यार्थीहरूले यसरी जुजुधौ बनाउने तरिका सिक्दा धेरै उत्साहित देखिने गरेका बिजुक्छेँले बताए।

प्रकाशित मिति: : 2019-08-05 16:19:44

प्रतिकृया दिनुहोस्