चिनियाँ राहदानी भारतमा खरिद, भारतमै नेपाल अध्यागमनको नक्कली छाप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले टर्की जान खोज्दा नियन्त्रणमा लिएका दुई व्यक्ति बौद्ध धर्मगुरु दलाई लामाका अनुयायी तिब्बती भएको खुलेको छ।

विमानस्थल अध्यागमनले २०७६ साउन ११ गते नियन्त्रणमा लिएका उनीहरुमध्ये एक जना महिलाले नेपाली भाषा समेत बुझ्छिन्। पुरुषले तिब्बती भाषा मात्र बुझ्छन्।

नक्कली चिनियाँ राहदानी र नक्कली अध्यागमन छाप प्रयोग गरेका उनीहरु युरोप जाने प्रयास गर्दा विमानस्थलबाट पक्राउ परेका थिए।

उनीहरुले नेपालबाट टर्कीसम्म जान राहदानीमा लगाएको भिषाबारे पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गरिरहेको छ।

‘दुवैजना तिब्बती हुन्, उनीहरुका साथबाट बरामद सबै कागजपत्र नक्कली हो,’ अध्यागमन स्रोतले नेपालखबरसँग भन्यो, ‘कुन उद्देश्यका लागि युरोप जाँदै थिए भनेर अनुसन्धान भइरहेको छ।’

chinese arrestedरसुवागढी अध्यागमनको सक्कली छाप (बायाँ) र चिनियाँ राहदानीमा प्रयोग भएको नक्कली छाप

भारतमा राहदानी खरिद, भारतमै नेपाल अध्यागमनको छाप
सीआइबी हिरासतमा रहेका उनीहरुले चिनियाँ राहदानी भारतमा खरिद गरेको बयान दिएका छन्। चिनियाँ राहदानीमा उनीहरुको नाम झेङ यान (राहदानी नम्बर ई ७७७६३५१३) र यू रेङजियान (राहदानी नम्बर इसी ७१३४९७१३) छ।

अध्यागमन विभागका अधिकारीसँगको बयानमा दुवैले राहदानी भारत पश्चिम बंगालको सिलीगुढीमा खरिद गरेको खुलाएका छन्। ब्युरोलाई दिएको बयानमा भने उनीहरुले नयाँ दिल्लीमा किनेको उल्लेख गरेका छन्।

‘५० हजार रुपैयाँमा भारतमा नक्कली छापसहितको राहदानी खरिद गरेको बताएका छन,’ अध्यागमन विभागका एक अधिकारीले नेपालखबरसँग भने ‘महिलाले नेपाली भाषा समेत बुझ्छिन्। योजनावद्ध रुपमा नेपाल आएको देखिन्छ।’

अनुसन्धानबाट उनीहरु भारतको धर्मशालाबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ। उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा देखाएको चिनियाँ राहदानीमा चीनको केरुङ र नेपाल रसुवाको अध्यागमन छाप समेत नक्कली भएको अनुसन्धानमा खुलेको हो।

रसुवागढी नाका अध्यागमनले प्रयोग गर्ने फरक नक्कली छाप प्रयोग भएको पाइएपछि उडान अनुमति रद्द गरी उनीहरुलाई पक्राउ गरिएको थियो। एयर अरेबियाको उडानबाट सारजहाँ हुँदै इस्तानबुल जान खोज्दा उनीहरु पक्राउ परेका थिए।

दुवै चीनको ल्हासाबाट केरुङ हुँदै असार ३० गते नेपाल प्रवेश गरेको राहदानीले देखाउँछ। दुवैजना सोमबारदेखि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।

चिनियाँ दूतावासमा पत्राचार 
ब्युरोले आफ्नो हिरासतमा रहेका झेङ यान र यू रेङजियानबाट बरामद राहदानी र कागजपत्रको छायाकपीसहितको विवरण काठमाडौंस्थित चिनियाँ दूतावासमा पठाएर थप अनुसन्धान गरिरहेको छ। ब्युरोले दुवैले प्रयोग गरेको राहदानी र उनीहरुका विषयमा दूतावासमा सोधखोज गरेको हो।

प्रकाशित मिति: : 2019-08-05 06:33:08

प्रतिकृया दिनुहोस्