इरानकाे ट्याङ्कर कब्जादेखि अमेरिकामा अर्काे गाेलावारीसम्म, कहाँ के भयाे ?

सुडान : सुडानमा सेना र आन्दोलनकारी दलको गठबन्धनले साझा संवैधानिक घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषणापत्रले अब यहाँ अन्तरिम सरकार गठनका लागि संवैधानिक मार्ग खुलाएको छ । साथै नागरिक सर्वोच्चता पनि स्थापित हुनेछ ।

ओमर अल बसिरलाई अपदस्थ गरी सेनाले सत्ता हत्याएपछि लामो आन्दोलनसँगै सुडानमा राजनीतिक अस्थिरता थियो । दुई पक्षबीच सहमतिसँगै राजनीतिक स्थिरतता सम्भव भएको हो । यसका लागि वाह्य मध्यस्तताको पनि भूमिका रहँदैआएको छ ।

जापानमा ६ दशमलब २ म्याग्निच्युडको भूकम्प

टोकियो : जापानमा आइतबार ६ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमालाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ५० किलोमिटर गहिराइको भएको स्थानीय मिडियाले जनाएका छन् ।

यद्यपि भूकम्पपछि सुनामीको खतरा नरहेको बताइएको छ । जापानमा भूकम्प जानु सामान्य जस्तै भए पनि भूकम्पपछिको सुनामीबाट जनजीवन प्रभावित हुने गरेको छ ।

गल्फसँग अमेरिकाले समुद्री गठबन्धन गर्ने

सिड्नी : अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले गल्फ क्षेत्रसँग समुद्री गठबन्धधन गर्नेमा विस्वस्त रहेको बताएका छन् । आइतबार अष्ट्रेलियामा अमेरिकी नीतिबारे बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यूरोपियन तथा एसियन गठबन्धनका बावजुद अमेरिकाले नयाँ गठबन्धन गर्नसक्ने पोम्प्योको भनाइ थियो । सिड्नीमा पोम्प्योसँगै रक्षामन्त्री मार्क एस्परले समेत अमेरिकाको सुरक्षा नीतबिारे बोलेका थिए ।

इरानले फेरि विदेशी तेल ट्याङ्कर जफत गर्‍याे

तेहरान : इरानले फेरि अरु तेल ट्याङ्करलाई जफत गर्नुका साथै सातजना चालक दलका सदस्यलाई नियन्त्रणमा लिएको छ । अमेरिका र अरेबिक गठबन्धनसँग तनाब बढेसँगै इरानले एक महिनामै तेस्रो पटक तेलका ट्याङ्कर जफत गरेको हो । लाखौँ तेल अवैध रुपमा तस्करी हुने गरेको भन्दै उसले यसरी जफत गरेको जनाएको छ ।

रुसमा ६ सय भन्दा धेरै प्रदर्शनकारी एकैपटक पक्राउ

मस्को : रुसमा निष्पक्ष निर्वाचनको माग गर्दै जारी आन्दोलनका बीच प्रदर्शनकारी पक्राउ पर्ने क्रम रोकिएको छैन । आइतबार मात्रै प्रहरीले फेरि ६ सय भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राजधानी मस्कोमा प्रदर्शनमा उत्रिएका विपक्षी दलका समर्थक तथा अन्य युवालाई प्रहरीले एकैपटकमा पक्राउ गरेको हो ।
यसअघि पनि प्रहरीले १४ सय भन्दा धेरै प्रदर्शनकारीलाई एकैपटक पक्राउ गरेको थियो ।

प्रकाशित मिति: : 2019-08-05 06:28:47

प्रतिकृया दिनुहोस्