दिनभरि काम रातभरि चोरी, चोरको बहानामा पीडितको पनि कमाउने दाउ

बूढानीलकण्ठको मिलनचोकमा बिहीबार झापाका जस्मिन गौतमका सुनका गहना चोरी भए। तीन तोला सुन चोर्ने तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गर्‍यो।

गोरखाका बिक्किसिंह ठकुरी, भारत मणिपुरका बिकी भट्टराई र ओखलढुङ्गाका अस्मिन राई तीन तोलासुनसहित पक्राउ परे।

०००००००००००००००००००००

साउन १४ गते साँझ राजधानीकै गोकर्णेश्वर–७ माकलबारीमा रामराज गौतमको घरबाट पनि सुनका गरगहनासहित धनमाल चोरी भयो। त्यही दिन साँझ नक्सालबाट ओखलढुंगाका मानबहादुर श्रेष्ठको डेराबाट पनि नगद तथा सुनका गहना चोरिए। यी घटनाका चोर अझै पत्ता लाग्न सकेका छैनन् ।

०००००००००००००००००००००

पछिल्लो समय राजधानीमा दिनहुँजसो चोरीका घटना भइरहेका छन्। बितेको एक वर्षमा मात्रै एक सय ३४ वटा चोरीका घटना भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकाल बताउँछन्।

राजधानीको महाराजगन्ज क्षेत्र सबैभन्दा असुरक्षित बन्दै गएको छ। बितेको एक वर्षमा यो क्षेत्रमा मात्रै सबैभन्दा बढी २८ वटा चोरीका घटना भए।

बौद्धमा१३, बानेश्वरमा १२, कालिमाटी र ललितपुरमा ११÷११ वटा चोरीका घटना भएका छन्। सिंहदरबार क्षेत्रबाटै ८ वटा चोरीका घटना भएको प्रहरीको तथ्यांक छ।

बौद्ध क्षेत्रमा चोरीका संलग्न सातजनाको समूह पक्राउ परेपछि यो क्षेत्रमा अहिले चोरी हुन छाडेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

यस्ता छन् चोरका बहाना 

आफन्त खोज्ने तथा कोठा भाडामा लिने लगायतका विभिन्न बहाना गर्दै आउनेहरू चोरेर भाग्ने गरेको प्रहरीले जनाएको छ। प्रायः चोरले नगद, सुन चाँदी र ईलेक्ट्रोनिक्स सामान लैजाने गरेका छन्। चोरेर लगेका सामान तुरुन्तै उपत्यकाबाहिर पुर्‍याउने गरेको प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी केदार दाहालले बताए।

चोरीका घटनामा संलग्न व्यक्तिहरू प्राय उपत्यकानजिकका जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ र मकवानपुरका हुने गरेको प्रहरीले जनाएको छ।

अधिकांश चोरीका घटनामा मंगोलियन समुदायका १८ देखि ३० बर्ष उमेर समूहका व्यक्तिको संलग्नता पाइएको छ।

बाहिरी जिल्लाबाट आएर होटल, लज तथा गेष्टहाउसमा बस्ने र चोरेपछि घरतर्फ लाग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
चोरले चोरी गरेका सुनचाँदीका गहना भर्खरै खुलेका सुन पसल तथा थोरै लगानी गरी सञ्चालन गरेका सुन पसलमा बिक्री गर्ने गरेका छन्। त्यस्ता पसल दर्तासमेत नभएको पाइएको छ।

रातको समयमा झ्यालबाट हुक छिराई कोठामा भएका ल्यापटप तथा बहुमूल्य सामान चोरी गरेको पनि पाइएको छ। दिनमा सम्बन्धित सहकारी रेक्की गरी रातको समयमा चोरी गर्ने गरेको प्रहरीको भनाइ छ। प्रायः रातको १० देखि ३ बजेसम्मको बीचमा चोरीका घटना हुने गरेको प्रहरीले जनाएको छ।

रातको समयमा सवारीसाधनको प्रयोग गरी चोरी हुने गरेको र सिसि क्यामेराको डिभीआर समेत लैजाने गरेको पाईएको छ।

‘दिउँसो मुलढोकामा ताल्चा झुण्ड्याएका घर छान्छन् र कोठामा कोही नभएको अवस्थामा चोरी गर्ने गरेको पाइएको छ,’ एसपी दाहाल भन्छन्। यस्तै, खल्तीमा लुकाउन मिल्ने खालका क्यामरा, सुन चाँदीका गरगहना, नगद लाने गरेको पाइएको छ।

अचेल चोरले मोबाईल तथा ट्रयाक गर्न मिल्ने डिभाइस लैजादैनन्। चोरहरूले पुराना र अनुभवीबाट कम्तीमा १/२ जना र अरु नयाँलाई मिसाएर समूह बनाउने गरेका छन्।

पीडितका पनि अनेक दाउ 

दिनहुँ चोरीका घटना भए पनि प्रहरी भने राजधानीमा चोरीका घटना बढेको स्वीकार्दैन। काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटी भन्छन्, ‘राजधानी असुरक्षित भएको होइन, तर मोवाइल चोरे पनि, पैसा चोरे पनि चोरी नै हुने भएकाले पछिल्लो समय घटना बढीजस्तो लागेको मात्र हो। साना चोरी पनि गणना गरिने भएकाले संख्या बढीजस्तो देखिएको मात्रै हो।’

चोरीका घटना भइरहे पनि चोर पक्राउ गरिरहेको बोगटी बताउँछन्। उनी भन्छन्–चोरहरू उम्कन पाएका छैनन्। कतिपय पीडितले चोरिएकोेभन्दा बढी क्षति देखाउने गरेको उनले सुनाए।

प्रकाशित मिति: : 2019-08-05 06:24:57

प्रतिकृया दिनुहोस्