अपहरणको नाटक गरेर दिदीसँग पैसा माग्‍ने व्यक्ति प्रहरीको फन्दामा

पर्सा : आफैँ अपहरित भएको नाटक गरी परिवारसँग रकम लिन खोज्ने पर्साका एक युवा पक्राउ परेका छन्। जिल्लाको वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने वर्ष ३१ को अरमान भन्ने महमद तवरेज आलम ठकुराई पक्राउ परेका हुन्। साउन १३ गते घरबाट निस्की भरतपुर तथा भैरहवा लगायतका ठाउँमा लुकीछिपी बस्दै आफ्नै दिदीलाई फोन गरी अपहरणको नाटक गर्ने ठकुराईलाई पर्सा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। नाटकीय अपहरणको बहाना बनाएर परिवारसँगै रकम लिने मनशाय देखिएकोले पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। प्रहरीले फसाएको परिवारको गुनासो यता, गएको १६ गते बिहीबार अपहरणमा परेको नाटक गरेको भनी प्रहरीले सार्वजनिक गरेका पर्साको विन्दवासिनी गाउँपालिका-४ मधवल टोल निवासी उपनेश चौरसियालाई भने प्रहरीले फसाएको परिवारजनले दाबी गरेका छन्। शनिबार  वीरगन्जमा पत्रकार सम्मेलन गरी पीडित परिवारजनले यस्तो दाबी गरेका हुन्। गएको साउन १४ गते नै उपनेश अपहरण परेर १५ गते राति भारतको मोतिहारीस्थित कुनै एक घरबाट झ्यालको सिसा फोडेर १६ गते साउनमा बिहान भागेर सम्पर्कमा आएको उपनेशबारे प्रहरीलाई जानकारी दिन पर्सा प्रहरीमा छोरोलाई लिएर पुग्दा प्रहरीले उल्टै पीडित उपनेशलाई नियन्त्रणमा लिएको उपनेशका बुबाआमाले आरोप लगाए। साथी सोनु दास तत्वाको पैसाको साक्षी बसेका उपनेशलाई पैसाको लिनदिनमा मधवलकै अन्य दुई युवाहरूले रक्सौलमा जाऊँ त्यही पैसा दिन्छौँ भनी उल्टै बाइक चलाउन लगाएर उतैबाट अपहरण गराएको उपनेशका बुबा जंगबहादुर प्रसाद चौरसियाले बताए। भारत रक्सौलको होटल स्याम इन्टरनेशनलको रुम नम्बर ३०५ मा लगी त्यहिबाट सोनुदास तत्वालाई रकम दिनुपर्ने व्यक्ति अजाजुल मिया र मुख्य योजनाकार उत्तम तिवारीले आफ्नो छोरोलाई अपहरणकारीको जिम्मा लगाई सोनुलाई पनि मार्ने धाकधम्की देखाएर नेपालमा ल्याई छोडेलगत्तै घटनाबाहिर आएको उपनेशका बुबा चौरसियालगायत स्थानीयले दाबी गरे। ठोस अनुसन्धान होस्। उपनेश र सोनु दोशी भए कारबाहीमा होस्। तर निर्दोष नफसाइयोस् हाम्रो भनाइ यत्ति हो उनीहरूले भने।  मुख्‍य आरोपीलाई घटनाबाट मोडियो होटलको सिसी क्यामेराको फुटेजले पनि त्यहाँ लाँदा नेपाली नम्बरको मोटरसाइकल प्रयोग भएको र त्यसपछि भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अपहरणकारीको जिम्मा लगाउने काम मथवलकै तिवारी र मियाबाट भएको झल्कन्छ। तर, भारतीय प्रहरीले फुटेज हेरी मुख्य योजनाकार ठानेका तिवारी र मियालाई नेपाल प्रहरीले अनुसन्धानको दायरामा नै नल्याई घटनालाई उल्टो मोडेको विन्दवासिनी गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष अनोजकुमार चौरसिया र स्थानीय रवि चौरसियाले पनि बताए। उपनेशले आफ्नो साथी सोनुले आफ्नै अगाडि पैसा दिएकोले फिर्ता गर्न भनी भन्दा उल्टै सोनु दास तत्वा दुवै पीडितहरुलाई नै पर्सा प्रहरीले फसाएको स्थानीयको दाबी छ।

प्रकाशित मिति: : 2019-08-03 16:21:23

प्रतिकृया दिनुहोस्