'गलबन्दी’ले शतप्रतिशत स्रोतासम्म पुर्‍यायो : शान्तिश्री परियार [अन्तर्वार्ता]

काठमाडौं- ‘बोलमाया’ र ‘गलबन्दी’की  गायिका हुन् शान्तिश्री परियार। हेर्ने जमानामा आएको गीत भएकाले दर्शकले मोडेल अञ्जली अधिकारीमार्फत् उनको स्वर सुने।

कसले गाएको होला भनेर खोजतलास नगर्नेले उनलाई नचिन्न पनि सक्छन्। तर, उनलाई चिन्ने सीमित भेटिए पनि उनको स्वर नसुन्ने नेपाली गीतसंगीतप्रेमी विरलै होलान्।

यतिबेला तीजको सिजन चलिरहेको छ। यो सिजनमा उनको ‘फूलमति चनमति’ नामक गीत बजारमा आएको छ। यो गीतमा भने अञ्जली अधिकारीसँग उनी आफैंले अभिनय गरेकी छन्। गायिका शान्तिश्री परियारसँग नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानी:

 अघिल्ला गीतहरूले आफूले अभिनय पनि गर्नुपर्ने रहेछ भन्ने महशुस पो गरायो कि?  

यसपल्ट आफैंले पनि अभिनय गरियो। दुईजना मोडेल चाहिन्थ्यो। एकजना नाँच्नुपर्ने चाहियो। अर्को ननाँचे पनि हुने भएका कारण आफैंले अभिनय गरेँ। दर्शकलाई चिन्न सजिलो पनि हुन्छ।  नेपालमा पो मोडल राख्ने चलन छ। विदेशतिर त गायिका आफैं अभिनय गरिरहेका हुन्छन्। आफूलाई सुहाउँदो गीत भए अभिनय गर्दा फरक नपर्ने रहेछ।

गलबन्दी तपाईं देखिएको भए ‘स्टारडम’मा फरक पर्थ्यो है!
धेरैले त्यस्तै भन्नुहुन्छ। तर, ‘बोल माया’ र ‘गलबन्दी’का लागि अञ्जली स्पेशल नै हो। अञ्जलीको ठाउँ म कुनै पनि हालतमा लिन सक्दिनँ।

तपाईंले २०७० सालमै लोक दोहोरी कलाकारकै संस्थाले दिने अवार्डमा नयाँ गायिकाको अवार्ड पाउनुभएको थियो। त्यसपछि गायन करियर किन स्लो भयो?  
म काममा त व्यस्त नै थिएँ। गीतहरू धेरै हिट भएनन्। तर, तीन सयभन्दा बढी गीत ‘बोलमाया’ गाउनुअघि नै गाइसकेकी थिएँ।

‘बोलमाया’  र ‘गलबन्दी’ गाएपछि के फरक महसुस गर्नुभयो? 
‘बोलमाया’ गाउनुअघि मलाई लोक संगीत क्षेत्रका ५० प्रतिशतले चिन्थे। ‘बोलमाया’ले ७५ प्रतिशत स्रोतासम्म पुर्‍याए। ‘गलबन्दी’ले शतप्रतिशत पुर्‍याए जस्तो लाग्छ।

  म सामान्य मान्छे छु। त्यस्तो अरु फरक त महशुस गर्दिनँ। व्यस्तता बढेको छ। दिनमै चार–पाँचवटा गीत गाउनुपरेको छ। पहिले महिनामा २–४ वटा स्टेज कार्यक्रम गर्थेँ। अहिले ८–१० वटा गर्छु।

‘बोलमाया’ गाउनुअघि यस्तो ‘स्टार’ भइएला भन्ने लागेको थियो? 
‘बोलमाया’ त्यति हिट होला लागेको थिएन। लोकसंगीत बुझ्नेहरूले राम्रो मान्छन् जस्तो लागेको थियो। आम स्रोतामाझ पनि चर्चित हुनु मेरा लागि पनि ‘सरप्राइज थियो।

 त्यो गीत तपाईंको भागमा कसरी परेछ? 

प्रकाशजीले गायिकाको भीडमा मलाई खै कसरी छान्नुभयो, थाहा छैन। यो गीतका लागि उहाँले मलाई चुन्नु मेरो भाग्य हो। त्यसअघि हामीले सँगै काम गरेका थिएनौं। सामान्य चिनजान थियो। उहाँ लोक संगीत क्षेत्रको ट्यालेन्ट केटा हो भन्ने लाग्थ्यो। एक–दुई स्टेज कार्यक्रममा सँगै भएका थियौं। लमजुङमा कार्यक्रममा गएका बेला उहाँले एउटा फरक गीत बनाएको छु भन्नुभएको थियो। हाम्रोतिर आफन्त भाका हालेर रुने गर्छन्। तपाईंकोमा गर्छन् कि नाइँ भनेर सोध्नुभयो। मैले आफूलाई थाहा नभएको बताएँ। तर, आइडिया दिए गर्न सक्छु भन्ने आत्मविश्वास छ भनेकी थिएँ। प्रयास त गरें तर मैले राम्रो गर्न सकिछु भन्ने गीत हिट भएपछि मात्रै लाग्यो। गीत गाउँदा के कुरामा बढी ध्यान दिनुहुन्छ? शब्दको अर्थ अनुसार ‘एक्सप्रेसन’ दिन रुचाउँछु। हँसाउने खालको शब्द हो भनेर हाँसेर गाइरहेको जस्तै, रुनुपर्ने शब्दमा रोएको आवाज नै मिसियोस् भन्ने ठान्छु।  दिलैदेखि फिलिङ्स लिएर आउँछु। मेलोडीमा खूब ध्यान दिन्छु।

प्रकाशित मिति: : 2019-08-03 16:04:09

प्रतिकृया दिनुहोस्