ठूला सपनामात्र देख्छ महानगर, नागरिकका गुनासा जस्ताको त्यस्तै

तस्बिरः नेपाल न्यूज

काठमाडौं महानगरवासीका मोनो रेल मेट्रो रेल, पानीजहाजजस्ता ठूला र महत्वाकांक्षी सपना छैनन्। न यसबारे उनीहरूले गुनासो नै गरेका छन्।

मात्र उनीहरूको चाहना छ- कम्तीमा पनि महानगर धुलोमुक्त भइदिओस्, खानेपानीका लागि तड्पिनु नपरोस् र फोहरमैलाको उचित व्यवस्थापन होस्।

ढल व्यवस्थापन, बागमती करिडोर सरसफाइ, सफा सडक, चुस्त ट्राफिक व्यवस्थापन, व्यवस्थित बसपार्क निर्माण, सार्वजनिक यातायात व्यवस्थापन, सडकपेटी र फुटपाथ व्यवस्थापनजस्ता आकांक्षा छन्, जुन झिनामसिना लाग्न सक्छन्, तर नगरबासी बर्सेनि यी समस्याबाट पीडित छन्।

काठमाडौं महानगरको जनगुनासो इकाइमा ६ महिनामा थुप्रिएका गुनासाका चाङ हेर्ने हो भने पनि नगरवासीका कस्ता आकांक्षा रहेछन् भन्ने प्रस्ट हुन्छ, जहाँ खानेपानी, ढल व्यवस्थापन, सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, फोहरमैला समयमै उठाउनुपर्ने, सडकमा फुटपाथ हुनुपर्ने र अपाङ्गमैत्री फुटपाथ हुनुपर्नेजस्ता करिब ६ सय गुनासा थिए।

तर मोनो रेल, मेट्रो रेल र पानीजहाज चाहिन्छ भनेर कसैले गुनासो गरेनन्। महानगरलाई नमुना बनाउनुपर्छ भनेर कसैले गुनासो गरेनन्, मात्र आफ्ना समस्या समाधान होस् भन्ने चाहनाबाहेक।

महानगरका जनगुनासो इकाइ प्रमुख कृष्णप्रसाद चापागाईं भन्छन् ‘महानगरवासीका ठूला र महत्वाकांक्षी सपना छैनन्, उनीहरूका स-साना समस्या छन् जो सजिलै समाधान गर्न सकिन्छ।’ समस्या समाधान गर्ने निकायबीच समन्वय, सहकार्यको अभाव र लापरवाहीले महानगरका मसिना समस्या पनि समाधान हुन नसकेको उनी बताउँछन्।

केन्द्र सरकारसमेत रहेको काठमाडौं महानगरपालिका यिनै मसिना तर जनजीवनका महत्वपूर्ण समस्याबाट आक्रान्त छ। सर्वसाधारणले महानगरभित्र भएका स-साना समस्या समाधान गरिदिए पुग्ने सोच्छन् भने सरकार तथा महानगर रेल, जहाज ल्याउने नेपाललाई अन्य विकसित देशजस्तो बनाउने विश्वकै नमुना बनाउने होडबाजीमा दैडिरहेका छन्।

प्रकाशित मिति: : 2019-08-02 07:29:27

प्रतिकृया दिनुहोस्