दिनहुँ भित्रिन्छ साढे २ अर्ब रेमिट्यान्स

नेपालीले विदेशमा कमाएको पैसा औपचारिक माध्यमबाट नेपाल पठाउने परिमाण दैनिक करिब साढे २ अर्ब रुपैयाँबराबर हुने ताजा तथ्याङ्कले देखाएको छ।

मुलुकको केन्द्रीय बैंकको ताजा तथ्याङ्कअनुसार विदेश बस्ने नेपालीले दैनिक २ अर्ब ४२ करोड १८ लाख रुपैयाँ स्वदेश पठाइरहेका छन्।

गत आर्थिक वर्ष २०७५/७६ साउनदेखि जेठसम्म ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा छ।

अघिल्लो आव २०७४/७५ मा दैनिक २ अर्ब ९ करोड ७३ लाख औपचारिक माध्यमबाट भित्रिएको थियो । त्यसबेला ७ खर्ब ५५ अर्ब ६ करोड रेमिट्यान्स भित्रिएको थियो।

विदेश जाने नेपालीको संख्या घटे पनि रेमिट्यान्स वृद्धि दर भने घटेको छैन। गत आवमा ५ लाख ८ हजार ८ सय २८ नेपाली विदेश गएका थिए।

अघिल्लो वर्ष ६ लाख १२ हजार ६ सय ८५ जना विदेश गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ। विदेश जानेको सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा १ लाख ३ हजार ८ सय ५७ जनाले घटेको छ।

राष्ट्र बैंकका अनुसार गत आवको जेठसम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह १७.५ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब २ करोड पुगेको थियो। अघिल्लो वर्ष सोही अवधिमा ७.३ प्रतिशतले बढेको थियो।

बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स उल्लेख्य रहेको बैंकर बताउँछन् । हाल करिब चार दर्जन बढी रेमिट्यान्स कम्पनी र २८ वाणिज्य बैंकले रेमिट्यान्स कारोबार गरिरहेका छन्।

तीमध्ये इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ। प्रभु मनी ट्रान्सफरलगायत कम्पनी बढी रेमिट्यान्स भित्र्याउनेमा पर्छन्। औपचारिक रेमिट्यान्सको अवसर भने बैंकिङ विस्तारले नै दिएको हो।

यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा भएको छ। कामदारको कमाइ सुरक्षित तरिकाले परिवारसम्म पुगेको छ।

रेमिट्यान्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ। रेमिट्यान्स कम्पनीमा आइएमई र बैंकतर्फ हिमालयनलगायत बैंक सुरुदेखि यस्तो सेवा दिनेमा पर्छन्।

पछिल्लो समय रेमिट्यान्स कारोबार पनि बैंकहरूको मुख्य व्यवसायमा पर्न थालेको छ। ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ।

प्रकाशित मिति: : 2019-08-01 11:34:41

प्रतिकृया दिनुहोस्