मैले शेरबहादुरजीको राजीनमा मागेको होइन : नेता पौडेल

नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले गत निर्वाचनमा पार्टी पराजित भएपछि आफूले सभापति शेरबहादुर देउवाको राजीनामा नमागेको बताएका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेलले सभापतिलाई हारको नैतिक जिम्मेबारी लिनमात्रै भनेको बताएका हुन् । “मैले शेरबहादुरजीको राजीनमा मागेको होइन । राजीनामा अरुले मागेका हुन्, मलाई नचाहिने आरोप लगाइरहने ?,’ संस्थापन पक्षले लगाएको राजीनामा मागेको आरोपको खण्डन गर्दै उनले भने, “जब पार्टी हार्‍यो, जिम्मेबारी लिनुस् भनेको हो । राहुल गान्धीले पनि त पार्टी हारेपछि राजीनामा दिए, हारको जिम्मा लिए । पार्टीमा अर्को अध्यक्ष बन्नुपर्छ भने । पार्टीलाई माथि लैजाने सोचे । हारको नैतिक जिम्मेबारी पनि तपाईं नलिने ?” वरिष्ठ नेता पौडेलले बैठकमा सभापति देउवालाई भेटेर आफूले पार्टीभित्र भाग नखोजेको पनि दाबी गरे । “मलाई भाग खोज्यो भन्छन् । मैले त भेटेरै भनेको हुँ- मलाई ४० प्रतिशत चाहिएन भनेर,” बैठकमा उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “उताउति नभनेर मिलाएर गर्नुस् । सबैलाई मिलाउनु भनेर मैले भनेकै हुँ ।”

प्रकाशित मिति: : 2019-07-30 20:58:04

प्रतिकृया दिनुहोस्