चीनले दिएका ६४ वटा गाडी १३ वर्षदेखि फोहोरको थुप्रोमै

 चीन सरकारले काठमाडौं महानगरपालिकालाई अनुदानस्वरुप दिएको विभिन्न प्रकारका ६४ थान गाडीहरु डम्पिङ साइटमै थन्किएका छन् । टिपर, कम्पेक्टर ट्रक, मिनीट्रकसहित साना र ठूला आकारका १०८ थान गाडी चीन सरकारले काठमाडौं महानगरपालिकालाई ०६३ सालमा अनुदानस्वरुप दिएको हो ।

१०८ मध्ये ५८ वटा फोटोन कम्पनीका मिनी ट्रक छन् । मिनी ट्रकमध्ये हाल २० वटा मात्र सञ्चालनमा छन् । ३८ वटा मिनीट्रक फोहोरको थुप्रो छेउमै चल्दै नचली कवाड बनेका छन् ।  यस्तै टिपर र कम्पेक्टर ट्रक गरेर ५० वटा ठूला गाडीहरु चीनले महानगरपालिकालाई ०६३ सालमै अनुदानस्वरुप दिएको थियो । जसमध्ये हाल २४ वटा टिपर र कम्पेक्टर ट्रक मात्र सञ्चालनमा रहेको वातावरण व्यवस्था विभाग प्रमुख हरि श्रेष्ठले जानकारी दिए । टिपर र कम्पेक्टर ट्रक २६ वटा र ३८ वटा फोटोन मिनीट्रक गरी जम्मा ६४ वटा गाडी टेकुस्थित डम्पिङ साइटमा १३ वर्षदेखि थन्किएका हुन् । काठमाडौं महानगरपालिका क्षेत्रको फोहोर संकलनका लागि अनुदान पाए पनि साना, ठूला गरेर ६४ वटा गाडी डम्पिङ साइटमा थन्किएका हुन् ।

३० लाखदेखि एक करोड ५० लाख रुपैयाँ मूल्यसम्मका गाडीहरु १३ वर्षदेखि महानगरपालिकाको टेकुस्थित डम्पिङ साइटमै थन्किएका छन् । फोटोन मिनीट्रक हालको मूल्यअनुसार ३० देखि ३५ लाखसम्म पर्छन् । उक्त मूल्यअनुसार करिब २२ करोड रुपैयाँका ट्रकहरु सात वर्षदेखि थन्किएका छन् । यस्तै करौडौं मूल्यका टिपर र ट्रक पनि फोहोरको थुप्रो नजिकै कवाडी अवस्थामा राखिएको छ ।

“नेपालमा सञ्चालन हुने धेरैजसो गाडीहरु भारतीय कम्पनीका हुन्छन् । भारतीय गाडीका पार्टस् पनि नेपाली बजारमा सहजै पाइन्छ,” महानगरपालिकाको मेकानिकल शाखाका प्रमुख सनक महर्जनले बाह्रखरीसँग कुरा गर्दै भने, “चाइनिज गाडीका पार्टस् नेपाली बजारमा सहजै नपाइएकाले ती गाडीहरु थन्किएका हुन् ।”
जम्मा १०८ मध्ये महानगरपालिकाले हाल सबै प्रकारका गरेर ४४ वटा गाडी फोहोर संकलनका लागि सञ्चालन गरेको छ । बाँकी ६४ गाडी १३ वर्षदेखि डम्पिङ साइटमै थन्किएका छन् ।

नेपाल सरकारले सामान्यतया एउटा गाडीको आयु २० वर्ष तोकेको छ । फोहोरसँगै १३ वर्षदेखि थन्किएका ती गाडीहरु तत्काल मर्मत, सम्भार गरे पनि सञ्चालन हुन नसक्ने अवस्थामा रहेको मेकानिकल इन्जिनियरहरुको भनाइ छ । “सबै गाडीहरु आवश्यकता नभएकाले पार्किङमा राखिएको हो । म विभागमा आउनुभन्दा अघिदेखि नै गाडीहरु यसरी नै राखिएको थियो,” वातावरण व्यवस्था विभागका प्रमुख हरि श्रेष्ठले भने, “अहिले आवश्यकता परेको छैन । चाहिएको बेला मर्मत गरेर चलाउन सकिन्छ ।”

एउटाको पार्टस् अर्कोमा हालेर चलाउँछौं

चाइनिज गाडीको पार्टस् नेपाली बजारमा नपाइएपछि त्यहीं थन्किएका गाडीको पार्टस् झिकेर अर्को गाडीमा प्रयोग गरिँदै आएको पाइएको छ । मेकानिकल शाखामा चार वर्षदेखि काम गर्दै आएका एक मेकानिकले नाम नखुलाउने शर्तमा भने, “बडी बनाउन सकिने भए पनि इन्जिनको सामानहरु नेपालमा पाउँदैन, त्यसैले एउटा गाडीको पार्टस् खोलेर अर्को गाडीमा हालेर चलाउने गरेका छौं ।”

प्रकाशित मिति: : 2019-07-29 09:44:10

प्रतिकृया दिनुहोस्