गायिका स्मिता भन्छिन्ः प्रचण्डकी नातिनी भन्दा नराम्रो लाग्दैन

Agency

'प्रचण्डकी नातिनी भन्दा मलाई नराम्रो लाग्दैन। मेरो आफ्नो र हजुरबुवाबाट पाएको दुवै परिचय मलाई प्यारो छ,' स्मिता दाहालले भनिन्।

गायिका स्मिताको केही महिनाअघि मात्र 'जालमा' गीत सार्वजनिक भएको छ। गीतले राम्रो प्रतिकृया पाइरहेको उनी बताउँछिन्।

उनी पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगाकी छोरी हुन्।

राजनीतिक परिवारकी स्मिताले सानैदेखि गायिका बन्ने सपना बुनेको बताउँछिन्। उनले बाल गीत पनि गाएकी छन्। अब आफूलाई यही पेसामा नाम स्थापित गर्ने धोको रहेको उनले बताइन्।

'मलाई गायनमै रूचि छ,' उनले भनिन्, 'राम्रै प्रतिक्रिया पनि पाएकी छु।'

स्मिता हाल बिबिए चौथो सेमेस्टरमा अध्ययनरत छिन्। उनी सानै छँदादेखि उनको पूरा परिवार जनयुद्धमा होमिएको थियो। हजुरबुवा प्रचण्डले नै जनयुद्धको कमान्ड सम्हालेका थिए। अहिलेका जस्तो आधुनिक संगीतसँग उनको परिवार नजिक थिएन। जनवादी गीत बढी गाउँथे र सुन्थे।

'तपाईंलाई जनवादी गीत गाउन मन लागेन' भन्ने जिज्ञासामा उनले भनिन्, 'समयअनुसार धारणाहरू परिवर्तन हुन्छन्। जनवादी गीत नै गाउनुपर्छ भन्ने सोचाइ अहिले मेरो परिवारको पनि छैन। मेरो रूचि पनि सानैदेखि जनवादी गीतभन्दा अरूमा भयो।'

उनलाई जनवादी गीत गाउने इच्छा भने छ।

कलिलैमा सुरू भएको गायनयात्रामा आफ्नो परिवारले भरपुर साथ दिएको उनी बताउँछिन्।

'आमाले भन्नुहुन्छ बोली फुटेदेखि नै म गीत गुनगुनाउँथे रे,' स्मिताले भनिन्, 'हजुरबुवाले पनि मेरो गीत सुनेर राम्रो छ भन्नुहुन्छ।'

स्मिता दार्जिलिङमा जन्मिएकी हुन्। उतै हुर्किन्। चार कक्षासम्म दार्जिलिङमै पढिन्। दार्जिलिङमा पढ्दा सरहरूले फुर्सदमा स्मितालाई गाउन लगाउँथे। उनी पनि फुरुङ्ग हुँदै गाइहाल्थिन्।

प्रकाशित मिति: : 2019-07-28 18:42:46

प्रतिकृया दिनुहोस्