प्रदेश नम्बर २ मा मात्रै कृषि र पशुपक्षीतर्फ ३ अर्ब ५९ को क्षति

तस्बिरः राताेपाटी

असार अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रदेश नम्बर २ का विभिन्न जिल्लामा कृषि र पशुपक्षीतर्फ व्यापक क्षति पुगेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर २ का ७ जिल्लामा  पशुपछी करीब १ अर्ब ६२ करोड क्षति भएको छ  ।

यस्तै बालीतर्फ करीब १ अर्ब ९७ करोड बराबरको क्षति भएको छ । मन्त्रालयले क्षतिबारे थप विवरण आउन बाँकी रहेको भन्दै विस्तृत विवरणका लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार भइसकेको जनाएको छ ।

बाढी तथा डुबानबाट चैते धान, वर्षे धान, धानको ब्याड, मकै, तरकारी र केरा खेतीमा क्षति पुगेको छ भने भैँसी, गाई, हाँस, कुखुरा, वाख्रा, माछा लगायतका पशुजन्य वस्तुहरुमा पनि क्षति भएको छ ।

मन्त्रालयले कृषितर्फ र पशुपक्षीतर्फ कूल तीन अर्ब ५९ करोड रुपैयाँ क्षति भएको जनाएको छ ।

बाढीबाट सबैभन्दा बढी क्षति रौतहटमा पुगेको छ । रौतहटमा ५०० गाई, भैँसी र गोरु, ५०० बाख्रा, ५० हजार कुखुरा र १५ हजार हाँस कुल ६६ हजार २२ पशुपक्षी परेका छन् । यस्तै पराल, भुस, दानाका साथै खोर दानामा पनि क्षति पुगेको छ । रौतहटमा बाढीबाट ३५ करोडको क्षति भएको छ ।

यसैगरी बारा र पर्सामा बाढीबाट १ करोडको क्षति पुगेको छ । जसमा २४ वटा बाख्रा र १३० वटा गोठ, खोर र आहारामा क्षति पुगेको छ ।

यता, सिरहा र सप्तरीमा कुखुरा १० हजार ५००, हाँस १५ सय, गाई २२५, भैँसी ११० बाख्रा ५ सय गरी कुल १७ हजार ३३५ वटा पशुपक्षी बाढीमा मरेका छन् । सर्लाही र सिरहा जिल्लामा ९७ करोड ३० लाखको क्षति भएको छ ।

यसैगरी धनुषामा गाई १०, भैसी १५, बाख्रा ५० र कुखुरा ५०० वटा गरी कुल ५७५ वटा मृत्यु भएको छ । यो जिल्लामा १५ करोडको क्षति भएको छ ।

सर्लाहीमा ५ करोडको क्षति हुँदा महोत्तरीको क्षतिको विवरण भने आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । महोत्तरीको विवरण आउन बाँकी रहँदा प्रदेश नम्बर २ का जिल्लामा  ८९ हजार २८९ पशुपक्षी मरेका छन् । ती जिल्लामा २२ सय ३० माछापोखरीमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति: : 2019-07-28 14:13:56

प्रतिकृया दिनुहोस्