७० देशमा निर्यात हुन्छ नेपाली लेन्स

आयातमा अगाडि छ नेपाल । धान–चामलदेखि गाडीसम्म सबैकुरा आयात गर्नुपर्ने बाध्यता छ । नेपालबाट निर्यात हुने वस्तुको सूची लामो छैन । त्यही छोटो सूचीमा पर्छ कृत्रिम लेन्स । 

तिलगंगा आँखा प्रतिष्ठानले वार्षिक करिब पाँच लाख कृत्रिम लेन्स उत्पादन गरेर निर्यात गर्दै आएको छ । कूल उत्पादित लेन्समध्ये करिब ४० प्रतिशत नेपालमा खपत हुने गरेको छ बाँकी विभिन्न देशमा निर्यात हुन्छ । कृत्रिम लेन्स भारत चीन, पाकिस्तान, दक्षिण अफ्रिका, ताईवान, मलेसिया, सिगांपुर, थाइल्याण्ड, इन्डोनेसियालगायत ७० देशमा निर्यात हुने गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानलले सन् १९९६ देखि २०१८ को अन्त्यसम्ममा ५६ लाख ३५ हजार ८ सय कृत्रिम लेन्स उत्पादन गरिसकेको छ । एक अष्ट्रेलियन गैरसरकारी संस्थाको सहयोगमा नेपालमा कृत्रिम लेन्स उत्पादन हुँदै आएको छ । 

मोतियाबिन्दुका कारण दृष्टि गुमाएका बिरामीका लागि प्रतिष्ठानले उत्पादन गर्ने लेन्स प्रभावकारी हुने चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानले हाल दुई प्रकारका लेन्स उत्पादन गर्दै आएको छ ।

एमएमए लेन्स पुरानो प्रविधिबाट उत्पादन गरिन्छ भने फोल्डेबल लेन्स नयाँ प्रविधिबाट उत्पादन गरिन्छ । फोल्डेबल लेन्सहरु अधिकांश विदेशी बजारमा निर्यात हुने प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानबाट उत्पादित लेन्स नेपालका सबै आँखा अस्पतालहरुमा प्रयोग हुनुका साथै विदेशका ७० भन्दा बढी देशमा निर्यात हुने गरेको प्रतिष्ठानका जनसम्पर्क निर्देशक भगिरथ बानियाँले बताए । “अब कोही पनि मोतिबिन्दु भई दृष्टि गुमाएर अन्धकारमा बस्नु पर्दैन । प्रतिष्ठानमा उत्पादन हुने कृत्रिम लेन्स विदेशमा समेत खपत हुन थालेपछि यसको माग र उत्पादन पनि बढ्दै गएको छ,” उनले भने, “पिएमएमए लेन्स वार्षिक करिब २ लाख ३० हजार उत्पादन हुन्छ भने फोल्डेबल लेन्स करिब १ लाख ४५ हजार उत्पादन हुन्छ ।” पिएमएमए लेन्सको २५० रुपैयाँसम्म पर्छ भने फोल्डेबल लेन्सको १२ सयसम्म । बानियाँले भने, “एकपटकमा साढे ५ सय वटासम्म लेन्स बनाइन्छ, यसका लागि ४ सातासम्म लाग्छ । लेन्स हाम्रो छालासँग मिल्ने बनाउनुपर्छ । उत्पादन गरिएको लेन्स ५ वर्षभित्र प्रयोग गर्नुपर्छ । एकपटक प्रयोग गरेपछि जीवनभर परिवर्तन गर्नुपर्दैन ।”

प्रकाशित मिति: : 2019-07-26 16:50:38

प्रतिकृया दिनुहोस्