सिंहदरबार सुरक्षालाई १४ करोड, गेटमा भेइकल स्क्यानरदेखि बायोमेट्रिकसम्म

नयाँ स्वरुपमा गृह मन्त्रालय (तस्वीरः प्रविन कोइराला)

सिंहदरबार सुरक्षा सधैँ चर्चाको विषय हुने गर्छ, सिंहदरबारभित्र र बाहिर पनि। प्रधानमन्त्री कार्यालयसहित देशको प्रमुख प्रशासनिक केन्द्रभित्र हुने स–सना घटनाले समेत राष्ट्रिय चर्चा पाउनु स्वाभाविक नै हो।

यही सुरक्षा सम्वेदनशीलता बुझेर सरकारले सिंहदरबार सुरक्षा गुरुयोजना अघि सारेको छ।

संघीय सरकारको प्रमुख सचिवालय सुरक्षा सवालमा गुरु योजना (मास्टर प्लान) बनाएर अघि बढ्ने निर्णयमा सरकार पुगेको हो। गृहमन्त्रालयले तयार पारेको गुरु योजनामा अर्थ मन्त्रालयले समेत सहमति जनाएको छ।

सिंहदरबार सुरक्षा गुरुयोजनाको पहिलो वर्षका लागि १४ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ।

singha darbar south gateसिंहदरबार दक्षिण गेटमा सुरक्षा जाँच गरिँदै

तीनवटै गेट बनाइनेछ प्रविधिमैत्री
गृहकाअनुसार सिंहदरबार सुरक्षा गुरुयोजना अन्तर्गत पहिलो वर्ष तीनवटै गेटमा सुरक्षाकर्मीले गर्ने जाँच प्रविधिको जिम्मामा जानेछ। त्यसका लागि उपकरण खरिद गरिनेछ।

भेइकल स्क्यानर (मोटर गाडी एक्सरे), वाक थ्रु डोर र मेटल डिटेक्टर राखिनेछ। तीनवटै गेटलाई सुरक्षा जाँच प्रविधिमैत्री बनाइने गृहको योजना छ।

‘गुरु योजनाअनुसार यो वर्षदेखि काम सुरु भएको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी भन्छन्, ‘विकसित देशका मन्त्रालयमा प्रवेशद्वारमा अपनाइने सुरक्षा प्रणाली हामी पनि अपनाउँदैछौं। सुरक्षाकर्मीको सट्टा प्रविधि केन्द्रित सुरक्षा प्रणाली स्थापना गर्न गइरहेका छौं।’

गृहले सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा अहिले विद्यमान झन्झटिलो प्रक्रिया समेत सहज बनाउन काम गरिरहेको छ। नयाँ व्यवस्था लागू भइसकेपछि सिंहदरबार प्रवेश गर्न चाहने सर्वसाधारणले घरमै बसेर पासका लागि फारम भर्न पाउनेछन्।

‘सिंहदरबार प्रवेशको उद्देश्य र सम्बन्धित कागजपत्र पठाएपछि घरमै बसेको नागरिकलाई पास जारी हुन्छ,’ सहसचिव सुवेदी भन्छन्, ‘यसरी सुरक्षा विभागले जारी गरेको पासबाट सजिलै प्रवेश पाइनेछ। यसले अनावश्यक भिडभाड घट्ने अपेक्षा छ।’

प्रकाशित मिति: : 2019-07-26 08:25:08

प्रतिकृया दिनुहोस्