नेकपामा संकट, ईश्वरलाई झड्का !

२०५६ को आम निर्वाचनपछि तत्कालीन नेकपा एमालेको संसदीय फाँटमा रोचक घटना घट्यो । 

बिनाटेन्डर चाइना साउथवेस्ट विमान भाडामा ल्याइएको भन्दै संसद्को सार्वजनिक लेखा समिति छानबिन गर्ने निष्कर्षमा पुग्यो । सुवास नेम्वाङ समितिका सभापति थिए । प्रकरणमा मुछिएका थिए– तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम रावल । विमान भाडा–प्रक्रियाबारे प्रश्न उठेपछि सार्वजनिक लेखा समिति भीम रावललाई बोलाउने निष्कर्षमा पुग्यो ।

तर, पार्टीमा खैलाबैला मच्चियो । लेखा समितिका सदस्य रहेका एमालेका नेताले आपत्ति जनाए । काठमाडौं–५बाट चुनाव जितेका ईश्वर पोखेरल पनि समितिका सदस्य थिए ।

त्यतिबेला पोखरल माधव नेपालसँग नजिक थिए । भीम रावल पनि नेपाल निकटस्थै मानिन्थे ।

चाइना साउथवेस्ट प्रकरणबारे संसदीय समितिले प्रश्न उठाएपछि पोखरेल क्रुद्ध भए । भोलिपल्टै पार्टी कार्यालयबाट वक्तव्य जारी गर्न लगाए– ‘कमरेड ईश्वर पोखरेलबाट सार्वजनिक लेखा समितिमा नबस्ने इच्छा प्रकट भयो ।’

पार्टी सचिवालय ‘दुरूपयोग’को कुनै दृष्टान्त दिनुपर्‍यो भने तत्कालीन एमालेका नेताहरू यस घटनालाई सम्झन्छन् ।

कुनै समय ईश्वर पोखरेलले यो हदसम्मको राइँदाइँ पार्टीमा चलाएका थिए । मदन भण्डारी महासचिव हुँदादेखि नै पोखरेलले नेतृत्वको वरिपरि रहेर रोजेको र इच्छाएको पद वरण गर्दै आएका थिए ।

यो क्रम नवौँ महाधिवेशनसम्म जारी रह्यो । एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएपछि भने ‘ब्रेक’ लाग्यो ।

मदन भण्डारीदेखि केपी ओलीसम्म पार्टी प्रमुख हुँदा नेतृत्वसँग निकट रहेर रोजेको विभाग र खोजेको जिम्मेवारी लिँदै आएका पोखरेलले स्कुल विभागसम्म नपाउने परिस्थिति सिर्जना भएको छ ।

अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यविभाजन स्कुल विभागमा आएर अड्किएको छ । बालुवाटारमा दिनहुँ अनौपचारिक छलफल चलेपछि त्यसले कुनै निकास दिन सकेको छैन । 

पार्टीका नेताका अनुसार स्कुल विभागमा यसअघि यस्तो विवाद कहिल्यै देखा परेको थिएन । पार्टी संरचनाअनुसार संगठन र प्रचार विभाग महत्त्वपूर्ण मानिन्छन् । सदस्यता वितरण, अद्यावधिक र खारेजी गर्ने, सदस्यहरूको लगत राख्ने हुँदा संगठन विभागको महत्त्व शुरूदेखि नै छ । पार्टीको निर्णय सञ्चार गर्ने हुनाले प्रचार विभाग पनि महत्त्व पनि अधिक नै मानिन्छ ।

तर, स्कुल विभाग त्यस्तो कामकाजी होइन ।

एमालेको यसअघिको कार्यविभाजनमा अरू विभाग रोजाइमा हुँदा स्कुल विभाग उपेक्षामा पर्थ्यो । “पार्टीका नीति पढाउने विद्यालयका रूपमा चिनिएको स्कुल विभागको महत्त्व पार्टी स्थापनाकालको जस्तो छैन । साँच्चै भन्ने हो भने, अहिले यो ‘प्रतिष्ठाको लडाइँ’जस्तो भएको छ,” नेकपाका केन्द्रीय तहका नेता भन्छन् ।

तर, यही स्कुल विभागमा एकभन्दा अधिक उमेदवार देखिएका छन् । शुरूमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी थियो । अहिले पार्टीका अध्यक्ष र प्रधानमन्त्रीसम्म भइसकेका झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की पनि दाबेदारका रूपमा अगाडि आएका छन् ।

दाबेदारी जति बढ्दै जान्छ, उति नै ईश्वर पोखरेलको सम्भावना क्षीण बन्दै जाने र विवादले जरा हाल्दै जाने नेकपाका नेता बताउँछन् ।

जबजको बेमौसमी उठान !

ईश्वर पोखरेलकै भनाइलाई सापटी लिने हो भने पार्टी एकतापछि उनले पटकपटक ‘खड्गो’को सामना गरेका छन् ।

पहिलो ‘खड्गो’ तर पार्टी एकता नै भइगयो । सबैका लागि फलिफाप बनेको पार्टी एकता ईश्वर पोखरेलका लागि अफापसिद्ध भयो । महासचिव खोसियो । दुई कार्यकाल महासचिव चलाइसकेका नेता पोखरेलले महासचिव खोसिँदैछ भनेर पनि थाहा पाउन सकेनन् ।

प्रतिशोध साँध्न पोखरेलले जनताको बहुदलीय जनवादलाई बहसका रूपमा उठान गरेका थिए । र, जनताको जनवादलाई ‘हाँसको चाल न कुखुराको चाल’को संज्ञा दिएका थिए । त्यो नै प्रत्युत्पादक बनेको नेकपा नेताहरूको ठहर छ ।

प्रकाशित मिति: : 2019-07-25 18:54:53

प्रतिकृया दिनुहोस्