नेपाली पासपोर्टमा स्विट्जरल्यान्डको नक्कली भिषा

संखुवासभा स्थायी ठेगाना भएका ३२ वर्षे हर्कराज राई स्विटजरल्याण्डको जुरिक जाँदै थिए। उनीसँग नयाँ दिल्लीस्थित स्वीस दूतावासले जारी गरेको १५ दिनको साञ्जेन भिषा थियो।

साञ्जेन भिषाबाट युरोपेली संघ आवद्ध २८ वटा देशमा यात्रा गर्न पाइन्छ।हर्कराजसँग उता बस्ने होटल बुकिङ थियो र घुम्ने गन्तब्यको लामै सूची पनि।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार समयमै पुगेका उनलाई काठमाडौंमा रहेका साथीहरुले बिदाई गरे। उनी ओमान एयरको उडान नम्बर डब्लु वाई ३३६ बाट मस्कट ट्रान्जिट हुँदै स्विटजरल्याण्ड जाने तयारीमा थिए।

हर्कराज राई ओमान एयरको काउन्टरमा ‘चेक इन’ गरेर अध्यागमन कार्यालयसम्म सजिलै पुगे। अध्यागमन अधिकृतले उनको पासपोर्टमा भिषा हेरे। साञ्जेन भिषा नयाँ दिल्लीबाट जारी भएको थियो।

तर उनी त्यहाँबाट अगाडि बढ्न पाएनन्।

‘भिषामा केही गडबड देखिएपछि हामीले हर्कराज राईलाई प्रस्थान अनुमति दिएनौं,’ विमानस्थल कार्यालय प्रमुख बेदप्रसाद खरेलले नेपालखबरसँग भने, ‘उनलाई नियन्त्रणमा लिएर विभागमा बुझाएका हौं।’

ओमन एयर उड्ने समय ८ः३५ मिनेटलाई निर्धारित थियो।

हर्कराजले विमानस्थलमा खटिएका अध्यागमन अधिकृतलाई आफूले दिल्ली गएरै दूतावासबाट भिषा लिएको दाबी गरे। त्यतिबेलासम्म अध्यागमन अधिकृतले उनको भिषा नक्कली हुनसक्ने बलियो आधार भेटिसकेका थिए।

यसरी खुल्यो रहस्य
हर्कराजका साथमा सुन्धारास्थित युनियन इन्टरनेशनल टुर एण्ड ट्राभल्सबाट जारी ओमान एयरको जुरिक आउने–जाने टिकट, नियम अनुसारको विदेशी मुद्रा र अन्य कागजपत्र थिए।

उनको पासपोर्ट नम्बर ११३५०५०९ मा टाँसिएको भिषा स्टिकर ८ जुलाई २०१९ मा जारी भएको थियो। १५ दिन समयावधि भएको भिषा ७ अगस्ट २०१९ मा सकिने थियो।

भिषा जारी भएको १५ दिनपछि उनी यात्राका लागि मंगलबार विमानस्थल पुगेका थिए। उनको भिषा अवधिमै शंका गरेका अध्यागमन अधिकृतले भिषा केलाएर हेरे।

साञ्जेन भिषाको स्टिकर केही नमिल्दो देखियो भने भिषाको पुछारमा हुने कोड नम्बर समेत गलत रहेको मेसिन जाँचबाट खुल्यो।

हर्कराजले १० मार्च २०१९ मा राहदानी विभागबाट पासपोर्ट लिएका थिए। उनी पहिलो पटक विदेश यात्रा गर्दै गरेको उनको पासपोर्टले देखाउँथ्यो। हर्कराज माथि शंका गर्ने अर्को कारण यो पनि बन्यो।

अध्यागमन हिरासतमा हर्कराज 
हर्कराजका लागि कोटेश्वरमा बस्ने एक जना नवीन नामका ब्यक्तिले सुन्धारास्थित युनियन इन्टरनेशनल टुर एण्ड ट्राभल्सबाट टिकट लिएका थिए। उनको टिकट सोमबार साँझ जारी भएको ट्राभल्सका कर्मचारी टिका बरालले बताए। एकजना चिनजानका न्यूरोडका व्यापारीको आग्रहमा टिकट बनाएको उनले बताए।

‘मलाई एकजना चिनजानको अंकलले टिकट बनाइदिन भन्नुभयो,’ बरालले नेपालखबरसँग भने, ‘मैले मंगलबार बिहान कोटेश्वरमा पुगेर टिकट दिएको हुँ।’

विमानस्थलले नियन्त्रणमा लिएर मंगलबार साँझ अध्यागमन विभागमा बुझाएका हर्कराज त्यहीँको हिरासतमा छन्। अध्यागमन अधिकारीहरुलाई केही नबताएका उनले दिल्ली गएर भिषा लिएको दाबी गरिरहेका छन्। बेलाबेला भक्कानिएर रुन्छन्।

‘हर्कराजले केही बताएका छैनन्’, विभागका मुद्दा शाखाका अधिकारी बैकुण्ठ रेग्मीले भने, ‘उनी रोइरहेका छन्, मानवतस्करले फसाएजस्तो देखिन्छ।’

युरोपेली देशको नक्कली भिषा अध्यागमनका लागि दुर्लभ विषय हो।

‘नक्कली साञ्जेन भिषाबाट विदेश जाने घटना बिरलै हुन्छ’, अध्यागमन विमागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘अन्तर्राष्ट्रिय गिरोहले भिषा नै नक्कली बनाउन थालेको यो घटनाले खुलासा गरेको छ।’

प्रकाशित मिति: : 2019-07-25 11:03:37

प्रतिकृया दिनुहोस्