विवादमा पाटनको पोखरीः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?

तस्बिरः नेपाल समाचार पत्र

ललितपुर । ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो ।

पार्किङ्ग भइरहेको उक्त स्थानको टेण्डर आव्हान गरेसँगै उक्त स्थानको चर्चा चुलिएको हो । नः त्वाः मंका खलले उक्त स्थानमा पोखरी बनाउन माग गर्दै साउनको १ गते शिलान्यास गरेको थियो ।

पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको वरिपरि बस्ती बढेसँंगै राजकुलो मासियो । पोखरीमा पानी जम्मा हुन नसकेपछि सुख्खा मैदानमा परिणत भयो ।

मैदान बनेको उक्त पोखरी रहेको स्थानमा वि.सं २०५४ साल महानगरको सक्रियतामा सभाहल बनाउन शिलान्याससमेत भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

सोही स्थानमा पोखरी नै बनाउनुपर्ने स्थानीयहरुको मागका कारण उक्त सभाहल बनाउने कार्यले सार्थकता पाउन सकेन । तत्कालीन मेयर बुद्धिराज बज्राचार्यले जोखिम मोल्न चाहनुभएन । फलस्वरुप त्यो स्थान फोहोर फाल्ने स्थानको रुपमा परिणत हुँदैगयो । फोहोर र दुर्गन्धले स्थानीयहरु आजित भए । त्यसपछि यस्तो कार्यले शहर दुर्गन्धित र कुरुप बनाउने निष्कर्षसहित तत्कालीन उपमहानगरले उक्त स्थानको संरक्षण गर्ने र सो स्थानमा पार्किङ्ग सञ्चालन गर्ने निर्णय लियो ।

पोखरी संरक्षण हाम्रो मुख्य दायित्व हो । समय आएपछि हामी सो स्थानमा पोखरी नै निर्माण गर्छौं । –चिरिबाबु महर्जन

सो वेलामा २० हजार रुपियाँ मासिक उपमहानगरपालिकालाई बुझाउने गरी टेण्डरमा लगाइएको थियो । त्यसवेला नःटोलका स्थानीयहरुले नै टेण्डर पाएका थिए । सो टेण्डरको म्याद सकिएपछि उपमहानगरपालिका रहँदैको समयमा पुनः टेण्डर गरियो । तत्कालीन ललितपुर उपमहानगरपालिका कार्यकारी अधिकृत भरतमणि पाण्डेको कार्यकालमा टेण्डर खोलिएको थियो ।

प्रकाशित मिति: : 2019-07-24 07:55:02

प्रतिकृया दिनुहोस्