प्रचण्डले भनेः स्कुल विभाग प्रमुख बन्नुस्, झलनाथले जवाफ दिएः तयार छु

झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुख हुन सचिवालय सदस्यहरू नरायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच पेचिलो बनेको प्रतिस्पर्धाका बीच झलनाथ खनालले बाजी मार्ने भएका छन्।

स्कुल विभागमा आएर अड्किएको पार्टी एकताको गतिरोध फुकाउन पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई प्रमुख बनाउन लागिएको हो। स्कुल विभाग प्रमुखमा सहमती नहुँदा विभागको जिम्मेवारी बाँडफाँट गर्न मंगलबार बस्ने भनिएको सचिवालय बैठक बिहीबारका लागि सारिएको थियो।

श्रेष्ठ र पोखरेलले स्कुल विभाग प्रमुखको दावी नछाडेपछि विकल्पका रुपमा खनाललाई अगाडि सारिएको हो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खनाललाई मंगलबार दिउँसो यसबारे जानकारी दिएर उनको सहमती पनि लिएका छन्।

‘अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो झलनाथ खनाललाई बोलाएर गतिरोध अन्त्य गर्न स्कुल विभाग प्रमुखको जिम्मेवारी लिनुस भनेर प्रस्ताव राख्नुभएको हो’, नेकपाका एक जना सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘खनालले म तयार नै छु भनेर जवाफ दिनुभएको छ।’

स्कुल विभाग प्रमुख खनाल बन्ने भएपछि उनी प्रमुख हुने भनिएको नीति प्रतिष्ठानको प्रमुख पोखरेल हुन सक्ने ती सचिवालय सदस्यले बताए।

नेकपामा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपालपछि खनाल चौथो बरियातामा रहेका छन्। पूर्व प्रधानमन्त्री नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी लिने सहमती भैसकेको अवस्थामा खनाल दोस्रो पूर्व प्रधानमन्त्री हुनेछन्, नेकपाको विभागीय प्रमुख बन्ने।

प्रकाशित मिति: : 2019-07-23 23:00:20

प्रतिकृया दिनुहोस्