मानव तस्करी : यसरी गरिन्छ नक्कली बिहे, दाँतका डाक्टरले दिन्छन् 'बर्थ सर्टिफिकेट'

‘दक्षिण कोरियामा रहेका श्रीमान्‌लाई भेट्न पाउने मेरो अधिकार हनन भयो। कोरिया प्रस्थानको अनुमति नदिँदा पटकपटक काटिएको टिकट रद्द गर्दा आर्थिक नोक्सानी भयो। अध्यागमनको निर्णय गैरकानुनी छ। परमादेश जारी गरी कोरिया प्रस्थानका लागि अनुमति पाऊँ।’ 

करिब दुई वर्षअघि यही व्यहोरा जनाउँदै सर्वोच्च अदालतमा निवेदन पर्छ। निवेदन हाल्ने व्यक्ति ओखलढुंगाको साबिक रुम्जाटार गाविसकी मेनुका राई (नाम परिवर्तन) हुन्। हाल उनको ठेगाना काठमाडौं महानगरपालिका–७ रहेको छ।

राईले अध्यागनमन विभाग कालिकास्थान र अध्यागमनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विपक्षी बनाउँदै निवेदन दिएकी थिइन्।

कोरियन नागरिक याङहयोनसँग आफ्नो विवाह भएको भन्दै राईले जन्म, मृत्यु र व्यक्तिगत घटना ऐन २०३३ बमोजिम स्थानीय पञ्जाधिकारीसमक्ष विवाह भएको प्रमाणपत्र समेत काठमाडौं महानगरपालिकाको कार्यालयबाट २०७२ चैत ५ गते लिएकी थिइन्। उक्त प्रमाणपत्र अनुसार २०७१ फागुन २८ गते उनीहरुको बिहे गरेको देखिन्छ। 

बिहे गरेपछि दुवै जना कोरिया जाने भन्दै कोरियन दूतावासमा कागजात पेस गरेको राईले सर्वोच्चमा दायर गरेको निवेदनमा उल्लेख छ। 

मानव तस्करले अमेरिका, युरोप, अफ्रिकी मुलुक र खाडी लैजान विभिन्न रुट प्रयोग गर्ने गरेका छन्। अधिकांशको सुरुवाती गन्तव्य भारतको दिल्ली रहेको छ। अमेरिका पुर्‍याउन तस्करले १३ देशको रुट प्रयोग गर्छन्।

महानगरपालिकाको विवाह दर्ता शाखाबाट दर्ता नम्बर ०७२/७३ (चलानी नम्बर ७७) को दुवै जनाको फोटो टाँसिएको प्रमाणित व्यहोरा, दक्षिण कोरिया जान आमाबाबुले मन्जुरी दिएको पत्र संख्या २०७२/७३ (चलानी नम्बर ५१) को ०७३ जेठ १३ गतेको सरजिमन मुचुल्का समेत गरेर ०७३ जेठ २४ र असार ६ मा अध्यागमनमा पेस भएको थियो। 

तर, अध्यागमनले श्रीमान्-श्रीमतीबीच बिहे भएको प्रमाणपत्र पेस गर्न नसेकको भन्दै कोरिया प्रस्थानको अनुमति दिएन। 

त्यसपछि उनी सर्वोच्चसम्म पुगेकी थिइन्। तर राई कोरिया जानकै लागि सर्वोच्चसम्म पुग्नुको पछाडि भने मानव तस्करहरुको हात रहेको बुझिएको छ। मोटो रकम लिएर कोरिया पठाउने योजनामा पटकपटक अध्यागमन बाधक भएपछि मानव तस्करकै समूहले उनलाई अदालतसम्म पुर्‍याएका थिए।

राईले अध्यागमनको २०७३ जेठ २४ गते चलानी नम्बर २०६५ को र असार ६ गते चलानी नम्बर २५३४ नम्बरको पत्रको निर्णय गैरकानुनी भएकाले त्यो खारेज गर्नुपर्ने, विपक्षीहरुको नाममा उपयुक्त किसिमले परमादेश जारी गरी पाऊँ भन्दै सर्वोच्चमा निवेदन पेस गरेकी थिइन्। 

सर्वोच्चले विवाह दर्ताको सक्कल प्रमाणपत्र पेस गर्न नसकेको, विवाह दर्ता ऐन २०२८ अनुसार विवाह दर्ता गर्नुपर्नेमा जन्म, मृत्यु र व्यक्तिगत घटना दर्ता ऐन २०३३ अनुसार स्थानीय पञ्जीकाधिकारीसँग व्यक्तिगत घटना प्रमाणित गराएको, विदेशी पुरुषसँग बिहे गरिसकेपछि आमाबाबु तथा अभिभावकले विदेशी नागरिकको घर जान लागेको हो भन्ने स्थानीय निकायको रोहबरमा मन्जुरीनामा नबनाएको पाइएको भन्दै गत भदौ १८ गते अध्यागनको निर्णय सदर गरेको थियो। 

त्यसपछि मोटो रकम लिएर कोरिया पठाउने मानव तस्करको योजना तुहिएको थियो। यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत अनौपचारिक जानकारी गराइएको थियो। तर घटना भएको एक वर्ष बितिसक्दा समेत  सम्बन्धित व्यक्तिहरु पक्राउ पर्न सकेका छैनन्। 

यसरी मानव तस्करहरुले नक्कली विवाह गरेर विदेश लैजाने गरेको सर्वोच्चको आदेशबाटै प्रस्ट भएको छ। 

दाँतको अस्पतालमा 'बर्थ सर्टिफिकेट'
मानव तस्करकै लागि नक्कली बिहे मात्रै होइन दाँतका डाक्टरले 'बर्थ सर्टिफिकेट' दिएको सम्मका घटना बाहिरिएका छन्।

गत बैसाख १९ गते कोरियन नागरिक किम नारा र पोखरास्थित जिनो अस्पतालमा कार्यरत चिकित्सक सन्तोषकुमार भट्ट पक्राउ परे। नक्कली कागजात बनाएर नेपाली बच्चा तस्करी गर्न लागेको थाहा पाएपछि उनीहरुलाई सिआइबीले पक्राउ गरेको थियो। 

मानव बेचबिखन ब्युरोले गत जेठ ३१ गते मात्रै क्यानडा पठाउने भन्दै दिल्ली पुर्‍याएर २५ लाख लुटपाट गरी बेहोस बनाएर मिर्गौला निकाल्न खोज्ने नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटालाई पक्राउ गरेको थियो। 

एक गरिब नेपाली दम्पतीको छोरालाई कोरियन महिला नाराले आफ्नो सन्तान भन्दै कोरिया लैजान लागेकी थिइन्। त्यसका लागि दाँतका चिकित्सक भट्टले आफ्नो अस्पतालमा नजन्मिएको बच्चालाई आफ्नो अस्पतालमा जन्मिएको भन्दै प्रमाणपत्र बनाइदिएका थिए। 

दाँतको अस्पतालमा बच्चा जन्मिएको सर्टिफिकेट बनाएर पोखरा महानगरपालिकाबाट कोरियन नागरिक नाराकै बच्चा भनेर जन्मदर्ता समेत बनाइएको थियो। सोही जन्मदर्ताको आधारमा कोरियन दूतावासबाट नाराले पासपोर्टसमेत बनाइसकेकी थिइन्। तर सोधपुछका क्रममा दाँतको अस्पतालबाट बर्थ सर्टिफिकेट लिएपछि नारा शंकामा परेकी थिइन्। अन्तत: पक्राउ परिन्। पक्राउ परेका दन्त चिकित्सक र कोरियन महिला नारा गत जेठ २३ गते पुर्पक्षका लागि कारागार चलान भए।

यसरी अनेक बहानामा मानव तस्करी हुने क्रम जारी छ। 

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गत जेठ ३१ गते मात्रै क्यानडा पठाउने भन्दै दिल्ली पुर्‍याएर २५ लाख लुटपाट गरी बेहोस बनाएर मिर्गौला निकाल्न खोज्ने नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटालाई पक्राउ गरेको थियो। मानव तस्करको आरोपमा केही पक्राउ परे पनि केही भने अझै फरार छन्।

प्रकाशित मिति: : 2019-07-23 22:07:02

प्रतिकृया दिनुहोस्