‘रअ’ प्रमुखको रहस्यमय काठमाडौं यात्रा

२०७६ साउन ४ गते नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडान नं. २१८ साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो। सो उडानबाट आएका विशिष्ट पाहुनालाई स्वागत गर्न भारतीय दूतावासको एउटा टोली पहिल्यै विमानस्थलमा उपस्थित थियो।

अघिपछि एयर इन्डियाबाट आउने भारतीय भीआइपीहरु त्यो दिन नेपाल एयरलाइन्सबाट आएका थिए।

‘दूतावासले सचिवस्तरीय टोली आउँदैछ भनेर भीआइपी लाउन्ज प्रयोगका लागि अग्रिम अनुमति लिएको थियो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतले नेपालखबरसँग भन्यो, ‘अघिपछि एयर इन्डियाको उडान प्रयोग गर्ने भारतीय विशिष्ट पाहुना त्यो दिन नेपाल एयरलाइन्सको उडानबाट आए। हामीले केही अपर्झट पर्‍यो होला भन्ने ठान्यौं।’

नेपाली राष्ट्रिय ध्वजाबाहकमा सवार भएर काठमाडौं अवतरण गर्ने त्यो भीआइपी टोली भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसहितको भएको खुलेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जिम्मेवारी बाँडफाँटको विषय पेचिलो बनिरहेको, विप्लव समूहले प्रभाव बढाउन प्रयास गरिरहेको अवस्थामा भारतीय खुफिया संस्था ‘रअ’ को टोलीले रहस्यमय रुपमा काठमाडौं भ्रमण गरेको हो।

शनिबार साँझ काठमाडौं अवतरण गरेको टोली सोमबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सकै जहाजबाट नयाँ दिल्ली फर्किएको छ। यो बीचमा काठमाडौंमा रहँदा ‘रअ’को उच्चस्तरीय टोलीले राजनीतिक पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको छ। सुरक्षा अंगका व्यक्तिहरुसँग छलफल गरेको छ।

सामन्तकुमार गोयल ‘रअ’ प्रमुखमा नियुक्त भएको २५ औं दिन दक्षिण एशियाली क्षेत्रीय शक्ति सन्तुलनमा महत्वपूर्ण मानिने नेपाल भ्रमणमा आएका हुन्। उनी २०७६ असार ११ मा ‘रअ’ प्रमुखमा नियुक्त भएका हुन्।

सुटुक्क राजनीतिक भेटवार्ता
टोली फर्किएसँगै उनको भ्रमण उद्देश्य पुष्टि गर्न सुरक्षा अंग सक्रिय भएका छन्।

सरकार एवं अन्य राजनीतिक शीर्ष नेताहरुका लागि पनि ‘रअ’का नवनियुक्त प्रमुख गोयल नयाँ अनुहार हुन्। भारतीय खुफिया संस्थाले नेपालको राजनीतिलाई सधैँ नजिकबाट हेर्ने गर्छ। गोयलले काठमाडौंमा रहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका बरिष्ठ नेता माधव नेपाल, शेखर कोइरालासहितका नेताहरुसँग भेटवार्ता गरेका छन्।

नेपाली नेताहरुका लागि टोलीमा सँगै आएका शशी भुषण सिंह तोमर पुरानै अनुहार हुन्। उनी लामो समयसम्म काठमाडौंस्थित ‘रअ’को स्टेशनमा बिताएका अधिकारी हुन्।

‘सम्बन्ध विस्तार र चिनजानका लागि आएको भन्ने छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने, ‘काठमाडौंमा रहँदा टोलीले महत्वपूर्ण राजनीतिक भेटघाट गरेको छ। पूर्वयोजना र तयारी बिनै अलि हतारमा आएको देखिन्छ। सुरक्षा अंगहरुले त्यसको विश्लेषण गरिरहेका छन्।’

प्रकाशित मिति: : 2019-07-23 22:03:10

प्रतिकृया दिनुहोस्