माइला लामा पक्राउ: विप्लव नेतृत्वको नेकपा ‘गलाउने’ सरकारी रणनीति

नेपाल प्रहरीले नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई शनिवार मध्यराति पक्राउ गरेको छ।

काठमाण्डूको गोठाटारबाट राति साढे १२ बजे लामालाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बीबीसीलाई बताए।

थापाका अनुसार राज्यले नेकपाका 'हिंसात्मक गतिविधि'माथि प्रतिबन्ध लगाएको र लामामाथि राज्यविरुद्धको दुई-तीनवटा मुद्दा चलाइएको पृष्ठभूमिमा पक्राउ गरिएको हो। 

नेकपाका केन्द्रीय सदस्य समेत रहेकालाई लामामाथि चलाइएका मुद्दामध्ये ललितपुरको नख्खुमा गराइएको बम विस्फोटको आरोपसम्बन्धी एउटा छ।

मुद्दा 

लामा पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डू क्षेत्र नं. ९ बाट उठेका पनि थिए र कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित भएका थिए।

"उपत्यका ब्यूरो इन्चार्ज भएको नाताले उक्त विस्फोटमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नता भएकोले उहाँमाथि त्यो मुद्दा चलाइएको हो," थापाले भने। 

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नख्खुस्थित कार्यालयअगाडि गराइएको विस्फोटमा एक जनाको ज्यान गएको थियो भने अर्का घाइते भएका थिए।

सो पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँगको एउटा अन्तर्वार्तामा आफूहरूले नै उक्त विस्फोट गराएको स्वीकारेका थिए।

सरकारले चन्द नेतृत्वको नेकपाका 'हिंसात्मक गतिविधि' माथि प्रतिबन्ध लगाएयता प्रहरीले उसका ठूला नेतालाई पक्राउ गर्ने रणनीति लिएको देखिन्छ।

यसअघि नेकपाका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य ओली पक्राउ परेका थिए। त्यसभन्दा पहिले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पटक पटक पक्राउ पर्दै अदालतको आदेशमा छुटेका थिए।

सरकारले नेकपाका 'हिंसात्मक गतिविधि' माथि प्रतिबन्ध लगाएदेखि नै उसका नेता, कार्यकर्ताका गतिविधिमाथि निगरानी राख्न प्रहरी थप क्रियाशील भएको देखिएको पूर्वगृहसचिव श्रीकान्त रेग्मीको ठम्याइ छ।

प्रकाशित मिति: : 2019-07-22 12:58:49

प्रतिकृया दिनुहोस्