सरुवामा महासेठको कीर्तिमान

तस्बिरः अन्नपूर्ण पोष्ट

कार्यकाल सम्हालेको १६ महिनामा तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको १६ महिनामा मन्त्री महासेठले तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा गरिसकेका छन्।

सरकार गठन हुनेबित्तिकै सचिवको सरुवा एकैसाथ मन्त्रिपरिषद्बाट गरिएको थियो। यसका लागि सबै मन्त्रीले आआफ्ना रोजाइका सचिवलाई मन्त्रालयमा ल्याएका थिए। महासेठले तत्कालीन सचिव देवेन्द्र कार्कीलाई हटाएर २०७४ चैतमा मधुसूदन अधिकारीलाई ल्याएका थिए। उनले गत जेठमा अधिकारीलाई हटाएर फेरि कार्कीलाई ल्याए।

मन्त्री महासेठले सडक विभागका तीन जना महानिर्देशक पनि फेरिसकेका छन्। यति छोटो अवधिमा बारम्बार कर्मचारी सरुवाले मन्त्रालयको कामकारबाही प्रत्यक्ष प्रभावित भएका छन्। आफ्नो दबाब नमान्ने विभागीय प्रमुखलाई सरुवा गर्ने गरेको आरोप उनीमाथि छ। महासेठ मन्त्री हुँदा सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देललाई मन्त्रालय तान्दै उनको ठाउँमा २०७५ जेठमा रवीन्द्रनाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो।

महासेठले ११ महिनापछि श्रेष्ठको ठाउँमा मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्मालाई महानिर्देशक बनाए। मन्त्रालय र विभागका कर्मचारी मात्र होइन, मन्त्री महासठेले दातृ निकायद्वारा सञ्चालित आयोजनाका कर्मचारी पनि आफू खुसी चलाउन थालेका छन्। उनले आपूmले चाहेको ठेकेदारलाई ठेक्का दिलाउन विदेशी सहायतामा सञ्चालित आयोजना प्रमुख फेरेको सार्वजनिक भएको थियो।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहायतामा निर्माण हुन लागेको नागढुंगा–थानकोट सुरुङ मार्गका प्रमुख सञ्जय श्रेष्ठलाई हटाएर केशवकुमार शर्मा (हालका महानिर्देशक) लाई ल्याएका थिए। जापानी कम्पनी हाजमालाई ठेक्का नदिई एउटा चिनियाँ कम्पनीलाई दिलाउन श्रेष्ठलाई हटाएको आरोप उनीमाथि छ। हिउँदयाममै ठेक्कापट्टा भई निर्माण कार्य सुरु हुनुपर्ने यो आयोजनाको हालसम्म ठेक्का सम्झौता हुन सकेको छैन।

मन्त्री महासेठले यातायात व्यवस्था विभागको महानिर्देशकमा सबैभन्दा बढी सरुवा गरेका छन्। उनले छोटोछोटो समयमा विभागको महानिर्देशक परिवर्तन गर्दै आएका छन्। महासेठ मन्त्री भएयता हालसम्म चारजना महानिर्देशक परिवर्तन भइसकेका छन्। हालका महानिर्देशक कुमारप्रसाद दाहाललाई हटाएर अर्कै व्यक्ति ल्याउन लागिपरेका छन्।

यातायात व्यस्थापन कार्यविधि निर्देशिका २०६० लाई २०७४ चैतमा संशोधन गरेर वर्षौंदेखि सीमित यातायात व्यवसायीको घेराबन्दीमा रहेको सार्वजनिक यातायातमा सुधार गर्ने पहल तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले सुरु गरेका थिए। काम सुरु गरेको तीनमहिना नबित्दै यातायात व्यवसायीको लबिङमा मन्त्रीले भट्टराईलाई मन्त्रालयमा ताने।

मन्त्री निकट मानिएका विभागका प्राविधिक निर्देशक प्रेमकुमार सिंहलाई जेठदेखि साउनसम्म कामु महानिर्देश नियुक्त गरिएको थियो। भट्टराईले यातायात व्यवसायमा प्रतिस्पर्धा प्रवद्र्धन तथा यातायात समिति कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्थालाई सिंहले गतिहीन बनाउने काम गरे।

प्रकाशित मिति: : 2019-07-21 07:19:59

प्रतिकृया दिनुहोस्