व्यापारी धम्क्याउने सईलाई जिल्लामा तानियो, घुमुवा मोतीरामको विगत नै विवादित

तस्बिरः नेपाललाइभ

राजविराज– पेस्तोल बोकेर स्थानीय व्यापारीलाई धम्क्याउने  इलाका प्रहरी कार्यालय बोदेबरसाइनका सई अमिरी यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले फिर्ता बोलाएको छ।

स्थानीयवासी र व्यापारीसँगको व्यवहार राम्रो नभएपछि यादवलाई जिल्लामा फिर्ता बोलाइएको हो। यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा सई नारायण भट्टराईलाई खटाइएको एसपी मनोजकुमार यादवले जानकारी दिए।

बिहीबार स्थानीय बजारबाट बिक्री भएको सामान प्रहरीले पक्राउ गरी भन्सार बुझाएको र दुई जना व्यक्तिलाई थुनामा राखेको विषयमा शनिबार बिहानै छलफल गर्न कार्यालयमा पुगेका व्यापारीलाई सई यादवले धम्क्याएका थिए। यादवले व्यापारीलाई धम्क्याएको र दुर्व्यवहार गरेको बोदेबरसाइन नगरपालिकाका मेयर आतेसकुमार सिंह यादवले पनि पुष्टि गरे। ‘उनको (यादव) व्यवहार अलि रुखो छ। सिंगल–सिंगल खेल्ने भए आओ भन्दै धम्क्याएछन्,’ उनले भने, ‘आमाको नाम जोडेर गाली गरेपछि व्यापारीहरु आक्रोशित भएर आन्दोलनमा छन्।’ सई यादवले ‘आमाको दूध खाएको भए भिड्न आओ’ भन्दै धम्की दिएको व्यापारीहरुको भनाइ छ।

बिहानैदेखि बोदेबरसाइन बजार बन्द छ। सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए।

'प्रहरीका कारण व्यापार चौपट'
प्रहरीको आतंकले व्यापार/व्यवसाय तहसनहस भएको व्यापारीको गुनासो छ। 

प्रहरीले खटाएका घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिए। पछिल्लो पटक गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्स (कपडा पसल) बाट बक्री भएको करिब ७५/८० हजारको सामान नियन्त्रणमा लिएर प्रहरीले भन्सार बुझाएपछि समस्या सुरु भएको उनले जानकारी दिए। 

भ्याट बिलसहित बेल्ही चेपेनाको पथ्थरगढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २/३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए। प्रदेश प्रहरीको घुमुवा (असई) मोतीराम महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए। 

प्रकाशित मिति: : 2019-07-20 17:30:04

प्रतिकृया दिनुहोस्