कालोसूचीमा ‘राख्नुपर्ने’ रमण कन्स्ट्रक्सनलाई भेरी-बबईको ठेक्का

तस्बिरः एजेन्सी

२२ असार, काठमाडौं । भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का रमण कन्स्ट्रक्सनले पाउने भएको छ । यो त्यही कम्पनी हो, जसलाई सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर गरेको छ ।

८ अर्ब लागत अनुमान गरिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै १ अर्ब ८४ करोड -भ्याटसहित) रकम घटेर ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँको टेन्डर हालेको थियो । रमणले चीनको ग्वाङ्डोन-युनाटियनसँग मिलेर जेभीमा यो परियोजनाका लागि टेन्डर हालेको थियो ।

आयोजनाले त्यसलाई नै सदर गर्दै सम्झौताका लागि बोलाएको छ ।

रमण कन्सट्रक्सन बलराम महतोको कम्पनी हो ।

यो कम्पनीले पछिल्लो समय ठूला ठेक्काहरु पारेपनि कतिपय आयोजनामा विवादित मात्र छैन, सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर समेत गरेको कम्पनी हो ।

हुलाकी राजमार्ग अन्तरगत नारायणी नदीमाथि बनाउनु पर्ने पुल समयमै नबनाएका कारण सडक विभागले रमण कन्सट्रक्सनलाई कारबाही गर्ने तयारी भइरहेको थियो । तर कालो सूची राखेको सूचना निकाल्ने तयारी भइरहेका बेला रमण कन्सट्रक्सन सडक विभागलाई नै विपक्षी बनाएर अदालत गएको छ ।

यो मुद्दा अदालतमा विचाराधीन भएको भन्दै सडक विभागका अधिकारीहरु कालोसूचीबारे बोल्न मान्दैनन् ।

हुलाकी राजमार्ग निर्देशनालय स्रोतका अनुसार रमण-पप्पु जेभीले २०६९ मा ठेक्का लिएको पुल सम्झौताअनुसार २०७३ मा निर्माण सक्नुपर्ने हो । तर, काम नै सुरु नभएपछि यही १६ असारमा सम्झौता खारेज गर्ने निर्णय भएको थियो ।

धरहरा पुर्ननिर्माणमा पनि रमण कन्सट्रक्सनको काम सन्तोषजनक देखिएको छैन । त्यही कम्पनीलाई भेरी बबई डाइभर्सन आयोजनाका हेडबक्स लगायतका संरचना निर्माणको ठेक्का दिनु जोखिमपूर्ण हुनसक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति: : 2019-07-20 17:25:12

प्रतिकृया दिनुहोस्