१० वर्षमा नेपालले भारतलाई बेच्यो डेढ अर्बको बिजुलीे

४ साउन, काठमाडौं । गत साता अविरल वर्षाका कारण देशभरको बिजुलीको माग आधा कटौती भयो । दैनिक १२ सय मेगावाटको माग ६ सय मेगावाटमा झर्दा खोलानदीमा पानीको सतह बढ्यो । कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चले ।

यसरी माग कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात गर्‍याे । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले सोही प्रसंगलाई लिएर भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास सुरु भएको बताएका छन् ।

वर्षामा बढी हुने बिजुली नेपालबाट भारतमा पठाएर हिउँदमा त्यति नै बिजुली भारतबाटै ल्याउने अवधारणा हो, ‘इनर्जी बैंकिङ’ । ‘पैँचो’ को रुपमा भारत र नेपालबीच हुने इनर्जी बैंकिङका विषयमा ऊर्जा सचिवस्तरीय समझदारी भइसकेको छ । तर, यसको लागि निर्देशिका बनेर अन्तिम सम्झौता भएको छैन भने नेपालले २ सय मेगावाटसम्म बिजुली भारतलाई कसरी बेच्यो त ?

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भन्छन्, ‘हामीले नेपाल–भारत विद्युत् अदानप्रदान समिति’मार्फत भारतमा बिजुली पठाइरहेका छौं ।’

हाल नेपालले दुई तरिकाले भारतबाट बिजुली आयात गर्दैछ । पहिलो ऊर्जा अदानप्रदान समितिमार्फत र दोस्रो विद्युत् ब्यापारको लागि तय भएको नोडल एजेन्सीमार्फत ।

तर, फाटफुट रुपमा मात्रै नेपालले भारतमा बिजुली पठाउँछ । भारतबाट आउने विद्युतको तुलनामा जाने परिमाण नगण्य छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालले गत आर्थिक वर्षको असार १५ गतेसम्म करिब २३ अर्बको बिजुली भारतबाट नेपाल ल्याएको छ । तर, त्यो अवधिसम्म नेपालले करिब १२ करोडको मात्रै बिजुली भारत पठाएको छ ।

प्रकाशित मिति: : 2019-07-20 10:28:34

प्रतिकृया दिनुहोस्