झिँजा सल्काउँदै आरक्षण आन्दोलन !

तस्बिरः अनलाइनखबर

३ साउन, काठमाडौं । संघीय राजधानी काठमाडौं कुनै न कुनै बाहनामा आन्दोलित हुँदै आइरहेको छ । गुठी विधेयकको विरुद्धमा माइतीघरमा उठेको आन्दोलन नसेलाउँदै अहिले असन इन्द्रचोकदेखि माइतीघर, बानेश्वरसम्म दिनहुँजसो विरोध कार्यक्रमहरु हुँदै आएका छन् । पछिल्लो आन्दोलन लोकसेवा आयोगले निकालेको विज्ञापनका विरुद्ध लक्षित छ ।

देशैभरि रिक्त रहेका स्थानीय तहका कर्मचारी भर्नाका लागि लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको र आरक्षणविरोधी भएको भन्दै आदिवासी-जनजातिको अगुवाइमा सुरु भएको आन्दोलन राजधानीबाट शुक्रबार प्रदेशहरुमा पनि छिटफुटरुपमा देखा पर्‍यो ।

‘आरक्षण बचाउ आन्दोलन’ ले शुक्रबार काठमाडौंलगायत देशका विभिन्न शहरमा विरोध जुलुससहित पुत्ला दहनका कार्यक्रम आयोजना गर्‍यो । साथै उसले भोलि -शनिबार) प्रदेश १ बन्द गर्ने कार्यक्रमसमेत इटहरीमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ ।

आन्दोलनकारीहरुले प्रधानमन्त्री, सामान्य प्रशासनमन्त्री र कतिपय ठाउँमा लोकसेवा आयोगका प्रमुखको समेत पुत्ला जलाउन थालेका छन् । विहीबार लोकसेवा आयोगको परीक्षाको पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित लोकसेवा आयोगको कार्यालयमा घेराऊ गरिएको थियो ।

अघिल्लो साता ललितपुरमा नाराबाजी गरेर सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवाले कार्यक्रमस्थलबाटै बाहिरिन बाध्य पारेका थिए ।

आन्दोनकारीहरु केपी ओली नेतृत्वको सरकारको विरुद्धमात्रै सीमित छैनन्, उनीहरुले विरोध प्रदर्शनमा सर्वोच्च अदालत र लोकसेवा आयोगको समेत विरोध गर्दै आएका छन् । आदिवासी जनजातिहरुले ‘आरक्षण बचाऊ आन्दोलन’ का नाममा लोकसेवाको विज्ञापनविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

प्रकाशित मिति: : 2019-07-20 00:51:34

प्रतिकृया दिनुहोस्