सरकार-विप्लव दूरी बढ्दै, वार्ताको कुरा बकवासमात्रै: विप्लव

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच वार्ताको वातावरण बनिरहेको चर्चा चलेका बेला दुवै समूहले वार्ताको वातावरण बनेको कुरालाई अस्वीकार गरेका छन् । यसअघि सत्तारुढ पार्टीकै नेताहरुले विप्लव समूहका नेताहरुसँग वार्ताका लागि अनौपचारिक तर गहन संवाद भइरहेको बताउँदै आएका थिए ।

सरकारको तर्फबाट नेकपा नेता सोमप्रसाद पाण्डे, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी तथा नेकपाका नेता जनार्दन शर्मा वार्ताका लागि सक्रिय भएको बताइएको थियो । उनीहरुले अनौपचारिक रुपमा आफूहरु संवादमा रहेको स्वीकारसमेत गरेका थिए ।

सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सरकार र विप्लव समूह दुवै उग्र बन्दै गएपछि सुरक्षा चुनौती बढेको विश्लेषण हुँदै आएको थियो । बिहीबारमात्रै सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सीके राउतझैँ संविधान स्वीकार गरेर शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिमा आएमात्रै वार्ता हुने बताएको थियो ।

मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शक्ति सञ्चय र दाउपेचका लागि वार्ता नहुने र सरकारले वार्ता गर्न नचाहेको कुरा नभएको बताए । ‘‘पक्राउ परेको मान्छे छुटाएर, मुद्दा फिर्ता लिएर पुनः बन्दुक बोक्नका लागि वार्ता हुँदैन,’’ उनले भने, ‘‘वार्ता गर्ने तर निष्कर्षमा नपुग्ने, दुनियाँमा भुलभुलैयामा राख्ने वैधानिकता प्राप्त गर्नका लागि पनि वार्ता हुँदैन ।’’ उनले दस वर्षे द्वन्द्वमा पनि शक्ति सञ्चयका लागि वार्ता भएका दृष्टान्त देखाउँदै सरकार ‘अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिए’झैँ भएको बताए ।

यता, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘वार्ताको हल्ला भ्रमपूर्ण बकवास’ भएको टिप्पणी गरेको छ । नेकपाका पोलिटब्यूरो सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजङ्गले बुधवार विज्ञप्ति जारी गर्दै सरकारले ‘गोयबल्स शैलीमा वार्ताको बकवासपूर्ण हल्ला फैलाएको’ आरोप लगाएका छन् । विरजङ्ग विप्लवका दाइसमेत हुन् । असार एक गते विज्ञप्ति जारी गर्दै विरजङ्गले स्थानीय सरकारका जनप्रतिनिधिहरुले अहिले सुराकीको भूमिका खेलेको पनि आरोप लगाएका छन् । 

प्रकाशित मिति: : 2019-07-19 18:32:53

प्रतिकृया दिनुहोस्