बालुवाटारमा पूर्व एमालेको बैठक, विदेश र संगठन विभाग टुंगो लाग्यो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वएमालेको बैठक बसेको छ । विभागको नेतृत्वको गृहकार्यका लागि बिहीबार राति बैठक बसेको र केही विषयमा समझदारी जुटेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले के कुरामा सहमति जुट्यो भन्ने खुलासा भने गरेनन् । “केही गृहकार्य भएको छ, पाँच गते घोषणा गर्छौं,” उनले भने ।

स्रोतका अनुसार पार्टीको विदेश विभाग प्रमुख वरिष्ठ नेता माधव नेपाललाई बनाउने सहमति भएको छ । यसअघि नेता नेपाल साविक पार्टीको विदेश मामला विभाग प्रमुख नै थिए ।

संगठन विभाग प्रमुख किसान महासंघका अध्यक्षसमेत रहेका वामदेव गौतमलाई बनाउने तयारी छ । एमालेमा उक्त विभाग पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए ।

गौतम बर्दिया–१ मा चुनाव हारेपछि जिम्मेवारीविहीन छन् । पार्टीभित्रको शक्ति सन्तुलनका लागि नेता गौतमलाई नै संगठन विभाग दिनुपर्ने अडानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, माधव नेपाल थिए । ओली पक्षले भने ईश्वर पोखरेललाई बनाउन चाहेको थियो ।

त्यस्तै, खनाल अर्थ तथा योजना विभाग र ईश्वर पोखरेल स्कुल विभाग प्रमुख हुनेबारेमा छलफल भएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति: : 2019-07-19 16:39:59

प्रतिकृया दिनुहोस्