पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

नारायणहिटीको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिले ३० वर्षका लागि लिजमा पाएको छ, दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’मा रहेको एक रोपनी १४ आना जग्गाबाट ट्रस्टले मासिक भाडा चार लाख १६ हजार ६ सय मात्रै पाउँछ

गोकर्ण रिसोर्ट र गल्फ कोर्सका लागि २ हजार ९७१ रोपनी जग्गा लिजमा : प्रतिरोपनी मासिक भाडा ७ सय ४६ रुपैयाँ

पहिले राजपरिवारको नाममा रहेको गोकर्णको तीन हजार नौ सय ७१ रोपनी जग्गा अहिले नेपाल ट्रस्टको नाममा छ । तर, ७४ प्रतिशत जग्गा यती एयरलाइन्सकै भगिनी संस्था यती होल्डिङ प्रालि र एलएस सुवीर ब्रदर्स (नेपाल) प्रालिले लिएका छन् । एक रोपनी जग्गाको वार्षिक ८ हजार ९ सय ५३ रुपैयाँका दरले ट्रस्टले भाडा लिँदै आएको छ ।

नेपाल ट्रस्टको नाममा २१ हजार ५६२ रोपनी जग्गा र घरहरू, तर मासिक ८२ लाख मात्रै, आम्दानी लिनेमा यतीबाहेक अरू पनि कमलादीमा पाँच रोपनी दुई पैसामा बनेको ६ तले काठमाडौं प्लाजाको मासिक भाडा जम्मा सवा ६ लाख

कौडीको भाउमा नेपाल ट्रस्टको सम्पत्ति

तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको साढे २१ हजार रोपनी जग्गा र ती जग्गामा भएका संरचना नेपाल ट्रस्टको नाममा छन् । १ पुस ०६४ को मन्त्रिपरिषद्ले पूर्वराजपरिवारको सम्पत्ति सरकारमातहत ल्याउने निर्णय गरेपछि नेपाल ट्रस्टमातहत आएका थिए । नारायणहिटी दरबारसँगै गोकर्ण रिसोर्ट, काठमाडौं प्लाजा, टेकुस्थित बिजनेस पार्क, कालिमाटीको सोल्टी आउटर कम्प्लेक्स, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको भवनलगायत ट्रस्टमा छन् । नारायणहिटी दरबारलाई संग्रहालय बनाइएको छ भने अन्य सबै जग्गा र संरचना ट्रस्टले भाडामा लगाएको छ । तर, राजधानीका व्यापारिक केन्द्रमा रहेका ती संरचना ट्रस्टले कौडीको भाउमा भाडामा लगाएको छ । 

नेपाल ट्रस्टको संरक्षक प्रधानमन्त्री हुन्छन् । ट्रस्टको सञ्चालक समिति सात सदस्यीय हुने व्यवस्था छ । सञ्चालक समितिको अध्यक्ष प्रधानमन्त्रीले तोकेको मन्त्री हुने प्रावधान छ । अहिले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सो समितिको अध्यक्ष छन् । 

त्यस्तै, सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेल, नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुर र ट्रस्टकै सहसचिव राजेश्वर ज्ञवाली छन् । ज्ञवाली ट्रस्ट सञ्चालक समितिको सदस्यसचिवसमेत हुन् । त्यस्तै, एक महिलासहित तीन सदस्य सरकारबाट मनोनीत हुने व्यवस्था छ । सीताराम सापकोटा, प्रवीण दाहाल र योङजोम शेर्पा मनोनीत सदस्य हुन् । 

प्रकाशित मिति: : 2019-07-19 09:30:49

प्रतिकृया दिनुहोस्