किशोरीको त्यो बयान, जसले खुलासा गर्‍यो वडाध्यक्षकी श्रीमतीको धन्दा

२०७५ वैशाख २५ मा भारतको नयाँदिल्लीस्थित सबैभन्दा बदनाम इलाका जिबी रोडबाट एक नेपाली किशोरीको उद्धार गरियो। दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा केआई नेपालले चलाएको अभियानअन्तर्गत उद्धार गरिएकी बाँकेको बैजनाथ अगैयाकी १९ वर्षीया ती किशोरीले बयान दिइन्– जीबीरोडको ६४ नम्बर कोठी राधा तामाङ नामकी महिलाले चलाएकी हुन्।

त्यो उद्धार प्रकरणले ‘राधा तामाङ’ ले सञ्चालन गरेको कोठीको विषयमा नयाँ खुलासा गर्‍यो। सुनील थापा नामक व्यक्तिले विवाह गर्ने बहानामा नेपालगञ्ज नाका हुँदै दिल्ली लगिएकी ती किशोरीको बयानका आधारमा सुनबहादुर तामाङ र उनकी कान्छी श्रीमती राधा तामाङविरुद्ध मानवतस्करीको अभियोगमा प्रहरीले मुद्दार दायर गर्‍यो। उनै सुनबहादुरलाई पाटन उच्च अदालतले बुधबार मानव तस्करीको अभियोगमा सफाइ दियो।

प्रहरीका अनुसार ती किशोरीलाई सुनील थापाले पहिलो दिन दिल्लीमा आफैसँग राखे पनि दोस्रो दिन रमेश ठाकुर नामक व्यक्तिलाई बेचेर फरार भएका थिए। त्यसपछि आनन्द विहार लगी अलग–अलग व्यक्तिसँग मोटो रकममा आफ्नो सौदा गर्ने गरेको किशोरीले बयानमा बताएकी थिइन्।

आफूमाथि जबरजस्ती गर्दा र यौनकार्यमा संलग्न नहुँदा कुटपिट हुने गरेको पीडित किशोरीले बताएकी थिइन्। एकको मोलमोलाइपछि ती युवतीलाई जिबीरोडको ६४ नम्बर कोठीमा बेचिएको केआई नेपालले दिल्ली पुलिस र महिला आयोगको सहयोगमा गरेको अनुसन्धानबाट खुलेको थियो।

६४ नम्बर कोठी वडाध्यक्ष तामाङकी पत्नीले सञ्चालन गर्ने गरेको ती किशोरीले खुलासा गरेकी हुन्। उक्त कोठीमा ३५ नेपाली महिला राखिएको उनले बताएकी थिइन्। किशोरीको बयान, प्रमाण र प्रहरीले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा अहिले चलिरहेको छ।

गाउँकै युवती बेचिएपछि...

नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकेशजंग शाहले मानव बेचबिखन तथा ओसारपसारमा परेको अर्को मुद्दाको फैसला गर्दै अभियुक्त सुनबहादुरसहित ६ जनालाई कैद र जरिवानाको सजाय सुनाएको थियो। उक्त फैसलामा राधा तामाङले मुम्बईमा कोठी सञ्चालन गरेको खुलाइएको थियो।

‘सुनबहादुरकी कान्छी श्रीमतीको धन्दा दिल्लीमा छ भन्ने सुनेका छौं, उहाँहरूको उच्चस्तरको जीवनशैलीले यो आशंकालाई बल दिएको छ,’ तत्कालीन एमालेका एक क्षेत्रीय नेताले नेपालन्युजसँग भने। तामाङ जग्गा कारोवारी पनि रहेको ती नेताले बताए। 
जनप्रतिनिधिहरू नै यस किसिमका कार्यको सञ्चालन र संरक्षणमा रहँदा बेचबिखनमा परेका महिलाको उद्धारमा चुनौती थपिएको केआई नेपालका प्रतिनिधि नवीन जोशी बताउँछन्।

‘राजनीतिक पूर्वाग्रहले आरोप लाग्यो’

सुनबहादुर तामाङ नेपाली कांग्रेसका क्षेत्रीय सल्लाहकार हुन्। २०४९ मा वडाध्यक्ष जितेका उनी २०५४ मा गाविस उपाध्यक्षमा केही मतले हारे।

त्यसपछि गत स्थानीय निर्वाचनमा तामाङले ६ सयको मतान्तरले जिते। निर्वाचनमा साम, दाम, दण्ड, भेद प्रयोग गरेर जितेको आरोप उनीमाथि लाग्यो। नुवाकोटबाट कांग्रेस नेता रामशरण महतले जित्दा उनी अभिन्न सहयोगी भएका थिए।

‘सुनबहादुर तामाङमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको हो,’ दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले नेपालन्युजसँग भने, ‘गाउँ बदल्ने नेतामाथि बदनामी गर्न खोजिएको हो।’

२०७० को संविधानसभा चुनावमा नेता महत पछाडि परिरहेको बेला दुप्चेश्वरको मतगणनाले उनलाई उकास्यो, विजयी पनि बनायो।
त्यसो त तामाङले गाउँमा स्कुल र स्वास्थ्यचौकी सञ्चालनका लागि जग्गादान गरेका छन्। उनले तामाङ गाउँमा जनचेतना सञ्चालन गर्न सामाजिक संस्था भित्र्याएका छन्। ‘तर, श्रीमतीसँग मिलेर गरेको अपराधको धन्दालाई उनका केही राम्रा कामबाट क्षमा गर्न मिल्दैन,’ तत्कालीन एमालेका एक नेता भन्छन्, ‘राजनीतिको आडमा अपराध गर्नेलाई कारबाही हुनैपर्छ।’

जिल्ला अदालतको फैसला

भारतबाट उद्धार गरिएका महिलाको उजुरीका आधारमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तामाङलाई वडा कार्यालयबाटै पक्राउ गरेको थियो। त्यसपछि सिआइबीले १५ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दियो।

तर, मानव बेचबिखनसम्बन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले प्रहरीले तामाङलाई नियन्त्रणमै राखेर फेरि अदालतमा पेस गर्‍यो।

त्यसपछि २०७४ चैत ९ गते तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत नुवाकोटले ३७ वर्ष ६ महिना कैद सजाय फैसला गर्‍यो। दुई लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला पनि सुनायो। जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको थियो।

प्रकाशित मिति: : 2019-07-19 08:53:11

प्रतिकृया दिनुहोस्