पूर्वमन्त्री मोहन बस्नेतको ६१ करोड 'कालोधन' भेटियो, शुद्धिकरण विभागले पैसा रोक्का गर्‍यो

तस्बिरः बिजमाण्डु

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड स्रोत नखुलेको सम्पति फेला परेको छ। 

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको हो।

विभागले सहकारीमा रहेको बस्नेतको पैसा 'फ्रिज' गरेर अनुसन्धान थालिसकेको छ। बैंक तथा वित्तीय संस्थापछि सहकारीमा समेत सम्पत्ति शुद्धिकरण कार्यान्वयनमा ल्याएपछि उनले निक्षेप राख्नेवित्तिकै त्यसको जानकारी वित्तीय जानकारी ईकाइ र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पुगेको थियो। 

बस्नेतको नाममा ठूलो रकम खातामा जम्मा भएपछि विभाग अलर्ट भएर अनुसन्धान तत्कालै थालेको थियो। प्रारम्भिक अनुसन्धानमा बस्नेतको कर छलीबाट आएको रकम जम्मा भएको देखिएको छ।

'प्रारम्भिक अनुसन्धानमा बस्नेतको कर छली गरेको भेटिएको छ। उहाँको 'ब्याकग्राउन्ड' सँग यति ठूलो पैसाको मेल खाने देखिएन। त्यही भएर सहकारी विभागमार्फत पैसा रोक्का गरिदिएका छौं' शुद्धिकरण विभागका एक अनुसन्धान अधिकृतले बिजमाण्डूसँग भने, 'अरु स्रोतहरु पनि खोजिरहेका छौं। अहिले सहकारीमा स्रोत नपुग्ने पैसा भेटिएको छ।'

बस्नेतको चीनसँग व्यापारिक कारोबार गर्ने व्यवसायीसँग बढी हिमचिम छ। उनी सिन्धुपाल्चोकका पूर्व सांसद हुन्। उनी अहिलेको निर्वाचनमा नेकपाका नेता अग्नि सापकोटासँग पराजित भएका थिए।

विभागले अहिले पोलिटिकल्ली एक्सपोज पर्सन (राजनीतिक रुपमा चिनिएका) हरुको अनुसन्धान तीब्र बनाएको छ।विभागले केही समयमै नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसी विरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ।

बस्नेत केही समयअघि नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सञ्चालक समेत थिए। बैंक तथा वित्तीय संस्था ऐन संशोधन भएर आउँदा संबैधानिक पदमा बसेकाहरु सञ्चालन हुन नपाउने ब्यवस्था भएपछि उनले राजीनामा गरेका थिए। उनी त्यसबेला संविधानसभा सदस्य थिए।

सम्पति शुद्धिकरण बिरुद्ध अन्तर्राष्ट्रिय रुपमा काम गरिरहेको संस्था फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटिएफ) मा आबद्ध भएपछि नेपालले कालोधन बिरुद्ध कडा नीति लिन थालेको छ। 

प्रकाशित मिति: : 2019-07-18 16:11:47

प्रतिकृया दिनुहोस्