आधा करोड युवा विदेशमा, अझै वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोज्दै सरकार

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या झण्डै आधा करोड पुगेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०७६ असारसम्ममा विदेश जाने नेपालीहरूको सङ्ख्या ४५ लाख ९९ हजार ५ सय ६७ पुगेको हो । यो सङ्ख्या आधिकारिक रूपमा विभागबाट श्रम स्वीकृति लिएर जानेहरूको मात्र हो । यीबाहेक पनि वैकल्पिक बाटो गरेर अनधिकृत रूपमा विदेश जाने नेपालीको सङ्ख्या ठूलो छ । जसअन्तर्गत नेपालसँग खुल्ला सिमाना रहेको भारतमा मात्र झण्डै २०, २२ लाखको हारहारीमा नेपाली रहेको अनुमान छ । यसको यकिन तथ्याङ्क छैन ।

विभागका अनुसार वि.सं. २०५०\५१ मा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या तीन हजार ६ सय पाँच जना मात्र थियो । पछि आर्थिक वर्ष २०७०\७१ सम्म आइपुग्दा त्यो सङ्ख्या ५ लाख १९ हजार ६ सय ३८ पुगेको विभागको तथ्याङ्कले देखाउँछ । २० वर्षको अन्तरालमा झण्डै दुई सय गुणाले वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेकामा पछिल्लो ५ वर्षमा अझ त्यो सङ्ख्यामा तीव्रता आएको देखिन्छ ।

विभागको पछिल्लो तथ्याङ्कलाई हेर्दा वार्षिक ७ लाख ५० हजार वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

चालू आर्थिक वर्ष २०७५\७६ को असार मसान्तसम्म कुल ४५ लाख ९९ हजार ५ सय ६७ जना (भारत बाहेक) श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये ४३ लाख ८१ हजार २ सय ९४ अर्थात् कुल वैदेशिक रोजगारीको ९५ प्रतिशत पुरुष र पाँच प्रतिशतमा २ लाख १८ हजार दुई सय ७३ महिला रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालका सबैजसो भूभाग तथा क्षेत्रबाट कुल जनसङ्ख्याको करिब ५० प्रतिशत घरधुरीका एक न एक जना वैदेशिक रोजगारीमा गएका वा गएर फर्किएका विश्व बैङ्कको एक अध्ययनले देखाएको छ । त्यसरी विदेशिनेहरूमा अधिकांश रोजगारीका लागि रहेको समेत सो अध्ययनले बताएको छ ।

अधिकांश रोजगारी खाडीमा

हाल नेपालीहरूका लागि वैदेशिक रोजगारीका लागि एक सय १० गन्तव्य तोकिएको छ । तीन देशमा सरकारले रोक्का गरेसँगै एक सय ७ देशमा वैदेशिक रोजगारीका लागि सरकारले स्वीकृत दिँदै आएको छ । तीमध्ये अधिकांश गन्तव्य मुलुक खाडी रहेका छन् ।

कुल वैदेशिक रोजगारीको अधिकांश कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमन गरी छवटा खाडी मुलुकमा रहेका छन् । यो सङ्ख्या ३० लाख ७१ हजार ४ जना रहेको छ । यीबाहेकका करिब ४ प्रतिशत नेपाली जापान, दक्षिण कोरियालगायतका देशमा रहेका छन् ।

अदक्ष जनशक्ति निर्यात गर्दै नेपाल सरकार

नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूमा अधिकांश अदक्ष जनशक्ति रहने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०\७१ मा मात्र अधिकतम ७४ प्रतिशत अदक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका थिए । त्यसपछि अर्ध–दक्षमा १२ प्रतिशत, दक्षमा १४ प्रतिशत र अतिदक्ष वा पेसेवरमा १ प्रतिशत मात्र वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेहरू अधिकांश निर्माण, उत्पादन क्षेत्र र घरेलु कामका लागि जाने गरेका छन् ।

प्रकाशित मिति: : 2019-07-18 09:41:14

प्रतिकृया दिनुहोस्