एक करोडको जीवन बिमा, १० लाखमा कन्ट्र्याक्ट किलर लगाएर श्रीमतीको हत्या

 औषधी उपचार गर्न भन्दै श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको आरोपमा पक्राउ परेका मकवानपुर घर भई पोखरा १० रामबजारमा बस्दै आएका ३५ वर्षिय रमेश नेपालीलाई प्रहरीले बुधवार पोखरामा सार्वजनिक गरेको छ।

२८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा आरोपी नेपालीले हत्या गर्नुभन्दा चार महिना अघि श्रीमतीको १ करोडको जीवन बिमा गरेको र भारतीय 'कन्ट्र्याक्ट किलर' प्रयोग गरी हत्या गरेको फेला परेको छ।

फरार रहेका तीनजना भारतीय कन्ट्र्याक्ट किलरको प्रहरीले खोजी गरिरहेको छ। सर्लाही ईश्वरपुर नगरपालिका घर भई पोखराको पृथ्वीचोक बस्ने वर्ष २६ का चितरन्जन साहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह अनुसार असार ३ गते भारतीय कन्ट्र्याक्ट किलर आएर पृथ्वीचोकका एक होटलमा बसेको र त्यसको बस्ने व्यवस्था गर्ने भोजपुर जिल्ला भोजपुर नगरपालिका बैंक रोड भर भई पोखराको महेन्द्रपुल बस्ने वर्ष ३२ का संजय शर्मा र चितरन्जन शाहले मिलाएको प्रहरीले बताएको छ।

हत्या योजना तयार भइसकेपछि रमेशले १ लाख एडभान्स दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। श्रीमतीको हत्यापछि लास जंगलमै छोडी रमेशले संजय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिन पछि दिने सहमति भएको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ।

रमेशले श्रीमतीको खुट्टामा भएको एलर्जीको जडीबुटी औषधी खोज्न भन्दै जंगलमा लगेर श्रीमतीलाई जडीबुटी खोज्दै तल जानु भन्दै बाहाना बनाई निस्केको र योजना आनुसार लुकेर बसेका व्यक्तिहरूले  आँखा र मुखमा सल बाँधी चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अनुसन्धानको क्रममा नेपालीले श्रीमतीको हत्या हुनु अघि युनिक लाइफ इन्सुरेन्समा एक करोडको जीवन बिमा गरेको कागाजाज फेला परेको बताए।

अनुसन्धानको क्रममा श्रीमतीका माइती पक्षको एकजना महिलासँग नजिकको सम्बन्ध पनि देखिएको उनले सुनाए।

माइती पक्षसँग रमेशको सम्बन्ध वा बिमा रकम कुन कारण घटना घटाइएको हो भनेर सुक्ष्म अनसन्धान भइरहेको उनले सुनाए।

पोखराको रामबजारमा मोबाइल पसल गरी बस्दै आएका रमेशले श्रीमती लक्ष्मीलाई पोखरा २२ पुम्दीभुम्दीस्थित ठुल्ढुङ्गाको जंगलमा लगेर हत्या गरी फालेको अवस्थामा २५ दिन पछि उनको अस्थिपञ्जर फेला परेको थियो। असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दीस्थित ठूल्ढुङ्गाको जंगलमा लगि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो। सिद्धार्थ राजमार्गदेखि करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दीको ठूल्ढुङ्गाको जंगलमा बुधबार अस्थिपन्जर भेटिएको थियो।

कास्कीका प्रहरी प्रमुख एसपी कार्की सहितको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न भन्दै असार २ गते निवेदन दिएका थिए। लक्ष्मीको आमा पिठुमायाले पनि छोरीको खोजतलाश तथा कारबाही गर्न भन्दै प्रहरीमा असार ११ गते निवेदन  दिएकी थिइन्। निवेदन परेपछि प्रहरीले पहिले उनीसँग नै घट्नाको बारेमा सोधपुछ गरेको थियो।

प्रकाशित मिति: : 2019-07-18 08:35:41

प्रतिकृया दिनुहोस्