शक्तिशाली विभाग लिन सचिवालयमै प्रतिस्पर्धा चार सय ३७ नेताको जिम्मेवारी तोकिँदै : संगठन, विदेश, स्कुल विभागमा शीर्ष नेता नै आकांक्षी

सत्तारूढ नेकपाको पार्टी एकता घोषणाको १४ महिना बित्यो । मंगलबार दुई अध्यक्षबीच जिल्ला इन्चार्ज र सहइन्चार्ज र विभागहरू बाँडफाँड गर्ने सहमति पनि भयो । तर, शक्तिशाली विभाग कसले लिने भन्नेबारे शीर्ष तहमै प्रतिस्पर्धा देखिएको छ । एकीकरण प्रक्रिया प्याकेजमै टुंग्याउने गरी अन्तिम तयारी अघि बढिरहेकै वेला हेभिवेट नेताहरू नै विभाग प्रमुखका आकांक्षी देखिएका हुन् । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको लगातार छलफलपछि साउन पहिलो सातामा एकीकरण प्रक्रियाका सबै काम प्याकेजमै टुंग्याउने सहमति जुटेको थियो । 

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये दुई अध्यक्षले कुनै विभाग वा संगठन हेर्ने छैनन् । बाँकी सबै नेताहरूको कार्यविभाजनमा सहमति गर्दै अध्यक्षद्वयले उनीहरूलाई जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग, मोर्चा फाँट, प्रवास, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विभिन्न प्रतिष्ठानहरूमा जिम्मेवारी तोक्ने समझदारी गरेका छन् । तर, नीतिगत रूपमा एकीकरणको मोडालिटी र संख्याबाहेक व्यक्तिको हकमा अझै समझदारी नजुटेकाले ५ गते बस्ने सचिवालय बैठकको अघिल्लो दिनसम्म गृहकार्य गर्ने ओली र प्रचण्डको तयारी छ । 

दुई अध्यक्षबाहेक केन्द्रीय सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको र समिम मिया अन्सारीले राजीनामा दिएकाले चार सय ३७ मध्ये कम्तीमा दुई सय नेतालाई भूगोलमा, ६० भन्दा बढी नेतालाई विभागीय जिम्मेवारीमा, बाँकी एक सय बढी नेतालाई जनसंगठनको इन्चार्ज र सहइन्चार्ज, विभिन्न प्रतिष्ठान, प्रवास, केन्द्रीय सम्पर्क समन्वय कमिटी, केन्द्रीय कार्यालयलगायत स्थानमा जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।
 
यसरी भयो भागबन्डा 
२४ असारमा वरिष्ठ नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा साबिक एमाले र माओवादी समूहले ६०/४० को अनुपातमा जिल्ला इन्चार्ज लिने समझदारी भएको थियो । यसरी भागबन्डामा परेका जिल्लाहरूमा साबिक इन्चार्जहरूलाई नै इन्चार्ज र सहइन्चार्ज तोक्ने मापदण्डमा सहमति जुटेपछि ओली र प्रचण्डले पछिल्लो मंगलबारको छलफलमा केन्द्रीय विभाग गठन तथा केन्द्रीय आयोगहरूको एकीकरणमा पनि समझदारी गरे । यो सहमतिअनुसार केन्द्रीय लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगमध्ये दुई आयोग साबिक एमाले तथा एक माओवादीले लिने गरी समझदारी जुटेको छ । केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास कमिटीको एकीकरण भने टुंगो लाग्न बाँकी छ । 

५ साउनमा डाकिएको सचिवालय बैठकअगावै ती बाँकी एजेन्डामा पनि सहमति खोजिने नेताहरूले जनाएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले एकीकरणसँग जोडिएका सबै काम प्याकेजमै टुंग्याउने गरी लगातार गृहकार्य गरिरहेको जानकारी दिए । एकता प्रक्रियाका सबै काम टुंग्याएर स्थानीय तहसम्मको पार्टी पंक्तिलाई सरकारको काम प्रभावकारी बनाउन परिचालन गर्ने नेकपाको नेतृत्वको योजना छ । महासचिव विष्णु पौडेलले एकीकरण प्याकेजमा टुंगिनेबितिक्कै सिंगो पार्टी पंक्ति गतिशील रूपमा क्रियाशील हुने बताए ।  

शक्तिशाली विभागमा ‘हेभिवेट’ नेताहरू नै प्रतिस्पर्धी 
ओली र प्रचण्डबीच ३२ वटा केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी भएको छ । संख्या भागबन्डा भए पनि कुन विभाग कसले लिने र कसलाई जिम्मेवारी दिने टुंगिन बाँकी रहेको एक नेताले बताए । केन्द्रीय विभागमा सचिवालय र स्थायी समिति सदस्यहरूमध्येबाटै तोकिने गरी छलफल चलेको छ ।   नौ सदस्यीय केन्द्रीय सचिवालयमा दुई अध्यक्षबाहेक सातजना ‘हेभिवेट’ नेता छन् ।

ओली र प्रचण्डपछि मर्यादाक्रममा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छन् । त्यसपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन् । सात नेतालाई विदेश विभाग, संगठन विभाग, पार्टी स्कुल विभाग, प्रादेशिक मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग, राजकीय मामिला तथा सुशासन विभागमध्येबाट जिम्मेवारी तोक्ने तयारी छ । तर, प्रचार तथा प्रकाशन विभाग भने स्थायी समिति सदस्यमध्येबाट पनि बनाउन सकिने गरी विकल्प खुला राखिएको स्रोतले जनायो । स्रोतका अनुसार साबिक एमाले समूहले लिने विभाग प्रमुखमा ओलीले वरिष्ठ नेता नेपालसँग पनि छलफल गरेर सहमति जुटाउनेछन् भने माओवादीतर्फको सूची प्रचण्डले तयार गर्नेछन् । दुवै समूहको सूची तयार भइसकेपछि सचिवालय बैठकअगावै अन्तिम रूप दिइने बताइएको छ । 

उच्च स्रोतका अनुसार ३२ विभागमध्ये सचिवालयका नेताहरूबीच संगठन, विदेश, स्कुल, विभागमा मुख्य प्रतिस्पर्धा छ । पहिले ती विभागहरूको जिम्मेवारी बाँडफाँट नभएसम्म बाँकी विषय टुंगो लाग्ने स्थिति छैन । महत्वपूर्ण  ती विभागको प्रमुख कसलाई बनाउने विषयमा ओली र प्रचण्डबीच नै कुरा मिलेको छैन । संगठन विभागमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रामबहादुर थापा‘बादल’को चर्चा छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गौतमलाई संगठन विभाग प्रमुख बनाउन चाहेका छन् । नेताहरूबीच समझदारी हुँदा प्रवक्तासमेत रहेका श्रेष्ठले स्कुल विभाग लिन चाहेका छन् । सचिवालयमा सहमति भए विदेश विभाग वरिष्ठ नेता नेपाललाई र संगठन विभाग गौतमलाई छाडेर श्रेष्ठले तेस्रो रोजाइको स्कुल विभाग लिन चाहेको स्रोतले बतायो । 

अध्यक्ष ओलीको प्राथमिकतामा भने संगठनमा पौडेल वा बादल र स्कुलमा ईश्वर पोखरेललाई जिम्मेवारी दिने चाहना रहेको स्रोतले बताउँछ । प्रचार तथा प्रकाशन र आर्थिक विभागमा भने सचिवालयका नेताहरूको खासै रुचि छैन । अध्यक्ष ओलीले पनि विदेश विभागको जिम्मेवारी नेपाललाई नै दिन चाहेका छन् । प्रभावशाली मुख्य विभागमा कुरा मिल्नेबितिक्कै बाँकी विभागमा सहजै सहमति हुने उच्च स्रोतको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनाल भने अहिलेसम्म विभागीय जिम्मेवारीबारे मौन छन् । दुई अध्यक्षबीच अहिलेसम्म सैद्धान्तिक सहमति मात्र भएकाले सचिवालयका नेताहरूको विभागीय जिम्मेवारी टुंगो नलागेसम्म गृहकार्य भएको प्रस्तावमा ठोस सहमतिको सम्भावना न्यून रहेको नेताहरू बताउँछन् । 

प्रकाशित मिति: : 2019-07-18 08:30:02

प्रतिकृया दिनुहोस्