प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?

सर्लाहीको लालबन्दी नगरपालिकाका वडा नम्बर १ र १० लाई एउटा कच्ची सडकले छुट्याउँछ। लखनदेही खोलाबाट पूर्वतर्फ करिब ५ सय मिटर दुरी तय गरेपछि पुगिने दुई वडाको साँधको यो ठाउँमा गत असार ५ गते एउटा अकल्पनीय घटना भयो। १० वर्ष लामो हिंसात्मक द्वन्द्व सकिएको अर्को दशकपछि यहाँ भएको 'कारवाही'ले धेरैलाई झस्क्यायो। यहाँको बाँसघारीमा प्रहरीको 'कारवाही'मा कुमार पौडेल मारिए।

प्रहरीको 'इन्काउन्टर'मा मारिएका पौडेल सर्लाही वाग्मती नगरपालिका २ का स्थानीय थिए। उनको परिचय त्यतिमै सकिँदैन। उनी नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्जसमेत थिए। यो बाँसघारीमा उनको हत्या भयो या मुठभेडमा मारिए अझै प्रष्ट खुलेको छैन। दुई दशक अघिको जनयुद्धताका भएका 'हत्या' जस्तै लाग्ने यो घटनाले देशलाई त्यतिखेर तरंगित पार्‍यो जतिखेर प्रहरीले मुठभेडमा मृत्यु भएको दाबी गरिरहँदा सत्तारुढ दलकै नेता जनार्दन शर्माले 'प्रहरीले कुमारको हत्या गरेको' अभिव्यक्ति संसदमै दिए।

यति चाहीं पक्का हो २०३० साल मंसिर २३ गते जन्मिएका कुमार पौडेलको मृत्यु प्रहरीकै गोलीबाट भयो। अन्योल चाहिँ - त्यो नियोजित हत्या थियो, या अप्रत्यासित मुठभेड भन्नेमात्र हो।

आखिर को हुन् त कुमार पौडेल?

प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको राजनीतिक पहिचान भने २०६२/०६३ सालको आन्दोलनपछि भएको हो। सुकुम्बासी समस्या समाधानको नारासहित सर्लाही जिल्लामा प्रभावशाली नेताका रुपमा उनी स्थापित हुँदै थिए। तत्कालीन नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक युवा संघमा जोडिए। तर भूमिगत रुपमा भने उनको नाता माओवादीसँग पनि बराबरी नै थियो। फेरि चुरेभावर पार्टीमा खुल्लमखुल्ला रुपमा देखिए।

लोकतन्त्र स्थापनापछि तराई मधेशमा भएको आन्दोलनका कारण चुरे तथा भावर क्षेत्रमा बसोबास गर्ने पहाडी मूलका बासिन्दा तथा आदिवासी थारु समुदायले आफ्नो अस्तित्व रक्षाका लागि अभियान नै छेडेका थिए। मध्य तराईको महेन्द्र राजमार्गदेखि दक्षिण पाँच किलोमिटरसम्म र राजमार्गबाट उत्तरको चुरे पहाडसम्म छुट्टै चुरेभावर प्रदेशको माग गर्दै आन्दोलनसमेत चल्यो। त्यसबाट प्रभावित भएर उनी पनि आन्दोलनमा जोडिए। त्यसअघि उनी तत्कालीन माओवादीले बनाएको गाउँ जनसरकार प्रमुख रहिसकेका थिए।

'गरिब किसानको पक्षमा लाग्ने केटो हो। देशलाई माया गर्ने मान्छे हो। गरिबको हित हुनुपर्छ। सुकुम्बासीले जग्गा पाउनुपर्छ भन्थ्यो', कुमारका ७२ वर्षीय बाबु खिलकराज पौडेलले सम्झिए, 'बुबा म चुरेभावरको जिल्ला अध्यक्ष बनेँ भन्दै आयो। मैले छोरा यो गल्ती गरिस्, राजनीतिको पछि लाग्नु हुन्न भनेँ। मधेशी पहाडीको नारा लगाएर नहिँड पनि भनेको थिएँ।'

प्रकाशित मिति: : 2019-07-18 07:56:15

प्रतिकृया दिनुहोस्