राष्ट्रपतिको छाता प्रकरणको सन्देश : खुशी हुन ठूलो कारण चाहिँदैन

तस्बिरः पहिलो पोष्ट

साताको सुरुवातमा सोसल मिडियामा एउटा तस्विर सार्वजनिक भयो जसमा राष्ट्रपति विद्यादेवी भण्डारीले छाता ओढेकी छिन्, आफैँ। यहाँ 'आफै' ओड्नुसँग जोडिएको प्रसंग रोचक छ। किनकि राष्ट्रपतिले आफ्नो छाता आफै ओढ्नकै कारण तीन दिनदेखि उनको फोटो चर्चामा छ। फोटोमाथि रमाइला टिका टिप्पणीहरु भइरहेका छन्।

माइक्रो ब्लगिङ साइट ट्विटर प्रयोगकर्ता मुकेश घिमिरेले लेखेका छन्, 'हामीलाई चाहिएको राष्ट्रपति यस्तै हो। छाता सम्हाल्न नसक्नेले देशको अभिभावकीय भूमिका सम्हाल्न सक्दैनन्।'

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद रामकुमारी झाँक्रीले फेसबुकमार्फत् राष्ट्रपतिलाई छाता बोकेकै कारण धन्यवाद व्यक्त गरिन्। उक्त तस्विर सेयर गर्दै लेखेकी छिन् - 'हिजो आज कार्यालयका सचिवालयका केही व्यक्ति र औपचारिक सैनिक घेराले जनताबाट अलग गर्न कोशिश गरेका छन्। राष्ट्रपति कार्यालयको प्रभाव तिनीहरूले दिन खोजेका छन्। ध्यान दिनुपर्ने देखिन्छ। दिदीले यो कुरा बुझ्नु भएछ जस्तो लाग्छ।'

उनले जनतालाई राष्ट्र प्रमुखबाट ठूलो कुरा केही नचाहिने बरु यस्तै साना व्यवहारबाट खुशी हुने समेत जनाएकी छिन्।

केहीले भने राष्ट्रपतिले आफ्नो छाता आफै बोक्नुलाई स्वभाविक भएको तर्क राखेका छन्। विनोद दाहालले लेखेका छन्, 'यो मुलुकमा राष्ट्रपतिले आँफैले समातेर छाता ओढ्दा पनि समाचार बन्छ अनि शीर्षक राखिन्छ - राष्ट्रपतिज्यूले आँफै ओढ्नु भयो छाता।'

प्रकाशित मिति: : 2019-07-17 17:39:33

प्रतिकृया दिनुहोस्