नेपालको झण्डा राखेर पानी जहाज चलाउने तयारीमा प्रभु ग्रुप, ऐन नबन्दा समस्या

बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्दै आएको नेपालको एउटा प्रमुख व्यवसायिक समूह प्रभु ग्रुपले पानी जहाज कम्पनीमा लगानी गर्ने तयारी गरेको छ। व्यवसायीक रुपमा नेपाली ध्वजावहाक पानीजहाज चलाउने तयारीमा प्रभु ग्रुप जुटेको हो।

प्रभु ग्रुपले नेपाल सिपिङ मल्टिमोडल कम्पनी खडा गरी पानी जहाज सञ्चालनको अनुमति माग गरेको जनाएको छ। प्रभु ग्रुप नेपाल पानी जहाज कार्यालयबाट अनुमतिपत्रको पर्खाइमा छ। नेपालले पानी जहाज सञ्चालन गर्ने भन्दै त्यस सम्बन्धी कार्यालय नै स्थापना गरेपछि प्रभु ग्रुपले त्यसमा लगानी सुरु गरेको हो।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनले सरकारले नै पानीजहाज सञ्चालन गर्ने योजना बनाएपछि लगानीको तयारी गरेको नेपालखबरसँग बताए। तर, सरकारले ढिलासुस्ती गरिरहेको उनको  गुनासो छ।

‘सरकारले योजना बनाएको धेरै भैसक्यो। तर काम गर्न सकिरहेको छैन। लामो समयदेखि अनुमति पत्र माग गरिरहँदा पनि हामीले पाएका छैनौँ’, भट्टचनले भने। 

भट्टचनले कति लगानीमा कतिवटा पानी जहाजबाट यो व्यसाय सञ्चालन गर्ने भन्ने खुलाउन चाहेनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा फहराएर नेपाली पानी जहाज सञ्चालनमा ल्याइने बताउँदै आएका छन्। नेपाल पानी जहाज कार्यालयबाट अनुमति पत्र प्राप्त गरेपछि मात्र कम्पनीले समुद्रमा पानीजहाज सञ्चालन गर्न पाउनेछ। त्यस्तै, नेपालका नदीमा समेत सरकारले पानी जहाज सञ्चालन गर्ने बताउँदै आएको छ। नेपालमै पनि पानी जहाज चालाउन प्रभु ग्रुप इच्छुक छ।

स्रोतका अनुसार प्रभु ग्रुपले सिंगापुरमा पानी जहाज खरिद गरेर नेपालको झण्डासहित रंगरोगन समेत गरिसकेको छ। नेपाल सरकारबाट अनुमति पाउनासाथ पानी जहाज सञ्चालनमा ल्याउन सकिने गरि तयारी गरिसकिएको छ।

प्रकाशित मिति: : 2019-07-17 11:28:25

प्रतिकृया दिनुहोस्