सरकारले भिसा र ट्रेकिङ अनुमति शुल्क व्यापक बढायो

सरकारले आउँदो बुधबार (जुलाई १७)देखि विभिन्न शीर्षकमा दिइने भिसाको शुल्क बृद्धि गर्ने भएको छ । अध्यागमन विभागले जारी गरेको सूचनामा जनाइएअनुसार सो सम्बन्धी निर्णय गएको मे २६ मै लिइएको थियो, अब कार्यान्वयन गर्न लागिएको हो । झण्डै एक दशकपछि सरकारले यो शुल्क बढाउन लागेको हो । 

जसअनुसार १५ दिनको मल्टिपल इन्ट्रिका लागि आउने पर्यटकको शुल्क अब ५ बाट बढाएर ३० डलर पुर्याइएको छ । त्यसैगरी ३० दिनको मल्टिपल भिसा इन्ट्रिका लागि ४० डलरबाट बढाएर ५० डलर पुर्याइएको छ । त्यस्तै, ९० दिनको मल्टिपल इन्ट्रि भिसाको लागि ३५ डलरबाट १२५ डलर पु¥याइएको छ ।  भिसाको म्याद थप्ने शुल्क पनि बढाइएको छ । जसअनुसार एक दिन भिसा म्याद थप्नको लागि २ डलर लाग्ने गरेकोमा अब ३ डलर लिइनेछ । यस्तै, मल्टिपल इन्ट्रि भिसाको समय थप्नको लागि थप २० डलर लिइने गरेकोमा अब २५ डलर लिइने छ ।

 
 
 

 

यस्तै, भिसा म्याद थप्न ढिला गरेको अवस्थामा प्रतिदिनको ३ डलर लिने गरिएकोमा अब ५ डलर लिइने भएको छ । 

त्यस्तै, विद्यार्थीका लागि दिइने भिसामा डिग्री कार्यक्रमका लागि आउने विद्यार्थी र तिनका डिपेन्डेन्टको भिसा म्याद थप्न प्रति महिना २० डलर रहँदै आएकोमा अब ३० डलर लिइने, नन् डिग्री कार्यक्रमका लागि आउने विद्यार्थी  र तिनका डिपेन्डेन्टलाई प्रति महिना ५० डलर लिँइदै आएकोमा अब ७५ डलर लिइने, भुटानी विद्यार्थी र तिनका डिपेन्डेन्टलाई प्रतिमहिना १० डलर लिइने गरेकोमा अब १५ डलर लिइने, भिसा वेभ गरिएका विश्वविद्यालयसँग सहमति भएका विद्यार्थीका हकमा तिनका डिपेन्डेन्टका लागि प्रतिमहिना १० अमेरिकी डलर लाग्दै आएकोमा अब १५ डलर, शिक्षण र अनुसन्धानको लागि आउने विद्यार्थीलाई प्रतिमहिना ४० डलर लिइने गरेकोमा अब ५० डलर लिइने अध्यागमन विभागले जनाएको छ ।

त्यस्तै पर्यटक बाहेक नेपाली मुलका मानिसलाई प्रतिमहिना ५ डलर लिइने गरेकोमा अब १० डलर, पत्रकारलाई प्रतिमहिना १० डलर लिने गरिएकोमा अब १५ डलर, नेपाल सरकारको कुनै परियोजनामा प्रत्यक्ष काम गर्ने विदेशी र तिनका डिपेन्डेन्टलाई प्रतिमहिना २० डलर लिँदै आएकोमा अब ३० डलर, नेपालीसँग विवाह गर्ने विदेशीलाई प्रतिमहिनाको लागि १० डलर लिँइदै आएकोमा अब १५ डलर, नेपालीसँग विवाहको नाता भएका विदेशीलाई प्रतिमहिना ३० डलर रहेकोमा अब ५० डलर भिसा शुल्क लाग्ने भएको छ । अन्य खालका विदेशी जो नेपालमा काम गर्छन् उनीहरुलाई प्रतिमहिना ६० डलर लिइँदै आएकोमा अब ७५ डलर, १०० मिलियन नेपाली रुपैयाँ भन्दा बढी नेपालमा लगानी गर्ने र तिनका डिपेन्डेन्टका लागि १ वर्षभित्र मल्टिपल भिसाका लागि प्रतिमहिना १० डलर रहेकोमा अब २० डलर भिसा शुल्क लाग्नेछ ।

त्यस्तै,१०० मिलियन नेपाली रुपैयाँसम्म लगानी गर्ने र तिनका डिपेन्डेन्टलाई एक वर्षसम्मको लागि मल्टिपल भिसाका लागि वर्षको १०० डलर रहेकोमा अब २०० डलर बनाइएको छ । १०० मिलियन नेपाली रुपैयाँ भन्दा बढी नेपालमा लगानी गर्नेका लागि ५ वर्षको मल्टिपल भिसाका लागि  ३०० डलर लिइँदै आएकोमा अब ५०० डलर लिइने भएको छ ।

आवासीय भिसाका लागि मल्टिपल इन्ट्री अन्तर्गत २०० डलर लिइँदै आएकोमा अब ५०० डलर तथा मल्टिपल इन्ट्रिका लागि आवासीय भिसा नवीकरण गर्न प्रतिवर्ष १०० डलर लिइने गरेकोमा अब २०० डलर लिइने भएको छ । यसैगरी विभागले ट्रेकिङ अनुमतिको नयाँ शुल्क पनि निर्धारण गरेको छ । जसअनुसार माथिल्लो मुस्ताङ, र माथिल्लो डोल्पा हरेकमा  पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० डलर, दश दिनपछिका प्रत्येक दिन प्रतिव्यक्ति ५० डलर तय गरिएको छ । 

गोरखा मनासलु क्षेत्रमा एक हप्ताका लागि प्रतिव्यक्ति १०० डलर तोकिएको छ भने एक हप्तापछिका हरेक दिन प्रतिव्यक्ति १५ डलर लिइने भएको छ । गोरखा मनासलु क्षेत्रको यो शुल्क सेप्टेम्बर र नोभेम्बर महिनाका लागि भएको र डिसेम्बरदेखि अगस्टसम्मको अवधिमा भने एक हप्ताको प्रतिव्यक्ति ७५ डलर र एक हप्तापछिको हरेक दिन १० डलर हुने जनाइएको छ ।

त्यस्तै, हुम्लामा प्रतिव्यक्ति एक हप्ता ५० डलर र एक हप्तापछिका हरेक दिन प्रति व्यक्ति १० डलर लाग्ने जनाइएको छ । ताप्लेजुङमा प्रतिव्यक्ति शुरुका चार हप्तासम्म अमेरिकी डलर २० र चार हप्तापछिका हरेक हप्ताको २५ डलर लाग्ने जनाइएको छ । तल्लो डोल्पामा हरेक हप्ता प्रति व्यक्ति २० डलर र एक हप्तापछि प्रति हप्ता ५ डलर प्रति व्यक्ति लिइने भएको छ ।

प्रकाशित मिति: : 2019-07-14 09:39:27

प्रतिकृया दिनुहोस्