श्यामशरणले सुटुक्क प्रचण्डसँग भेटेपछि बालुवाटारमा खैलाबैला

भारतका पूर्वविदेश सचिव श्यामशरणले काठमाडौं आएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि पछिल्लो समय बालुवाटारमा खैलाबैला मच्चिएको खुलेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले सेतोपाटीलाई दिएको जानकारीअनुसार असार दोस्रो साता श्यामशरण दिल्लीबाट काठमाडौं झरे। उनी नेकपा अध्यक्ष प्रचण्डको निवास  खुमलटार पुगे। प्रचण्डसँग कुराकानी गरेर उनी दिल्ली फर्किए। प्रचण्ड र श्यामशरणको यो ‘गोप्य’ भेटबारे प्रधानमन्त्री ओलीले केही दिनसम्म सुइँकोसमेत पाएनन्।

‘नेपालका मामिलामा खुब चासो राख्ने पूर्वभारतीय राजदूत श्यामशरणको आवागमन र भारतीय राजदूत मञ्जिवसिंह पुरीसँगले पनि प्रचण्डसँग भेटघाट थालेपछि प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रसँग छलफल गर्नुभएको हो,’ स्रोतले भन्यो।

सेतोपाटीसँग कुरा गर्दै ओली मन्त्रिमण्डलका एक सदस्यले पनि सो कुराको पुष्टि गरे। 

यही छलफलपछि प्रधानमन्त्रीको ‘कोर’ टिमका सदस्यद्वय विष्णु रिमाल र राजन भट्टराईले सरकारविरूद्ध भित्री बाहिरी शक्तिहरूले चलखेल गरेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस समेत लेखेका थिए।

प्रकाशित मिति: : 2019-07-12 10:05:14

प्रतिकृया दिनुहोस्