नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।

कांग्रेसका शीर्ष नेताहरूसँग भेटघाट भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनील झाले स्वीकारे। उनले भने, ‘भेटघाटमा लोकतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यता जोगाउन मिलेर अघि बढ्नुपर्छ भन्ने कुरा भएको छ।’ साझा मुद्दा बनाएर अघि बढ्ने विषयमा दुवै पार्टी सकारात्मक भएको जानकारी दिँदै उनले भने, ‘एकदुई दिनमा थप कुराकानी हुन्छ। त्यसबेला न्यूनतम साझा अजेन्डा तय गर्नेछौं।’

स्रोतका अनुसार दुई पार्टीबीच सर्लाही गोली काण्ड (कुमार पौडेल हत्या) को छानबिन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने विषयमा कुराकानी भएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले राखेको मागमा कांग्रेसले सहमति जनाएको भेटघाटमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए। उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। हामीले उठाएको यो मुद्दामा कांग्रेसका नेताहरूले सहमति जनाउनुभएको छ।’ सर्लाही गोलीकाण्डलगायत घटनाबाट सरकारले गैरन्यायिक हत्यामा उत्रिएको ठहर गर्दै कांग्रेस–राजपा नेताले यसको परिणाम गम्भीर हुने निष्कर्ष निकालेका छन्। ‘यो भनेको बूढी मरी भन्ने पीरभन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो। सरकाले यसरी गैरन्यायिक हत्या गर्दै जाने हो भने लोकतन्त्र रहन्छ ?’ यादवले प्रतिप्रश्न गरे।

प्रकाशित मिति: : 2019-07-12 07:57:16

प्रतिकृया दिनुहोस्