विश्वकै पहिलो ‘भावी पुस्तामन्त्री’ सोफी

सोफी हाव वेल्सकी फ्युचर जेनेरसन्स कमिशनर हुन्। उनी यस्तो पद धारण गर्ने पहिलो विश्वकै पहिलो व्यक्ति हुन्। 

अझै नजन्मिएकाहरूको प्रतिनिधित्व गर्दा कस्तो अनुभव भइरहेको छ?

‘मेरो विचारमा भावी पुस्ताको हितको संरक्षक भएर काम गर्नु संसारकै रोचक काम हो,’ हावले बताइन्। वेल्सकी फ्युचर जेनेरसन्स कमिशनर सोफी हावको काम भोलिको दिन सुनौलो बनाउनु हो। यस्तो अन्यत्र कतै छैन। यस्तो पदमा कसैलाई नियुक्त गर्ने वेल्स नै विश्वकै एकमात्र देश हो। 

सन् २०१५ मा ‘वेल्स एसेम्ब्ली’ले ‘वेल–बिइङ अफ फ्युचर जेनेरसन्स एक्ट’ पारित गरेपछि यस्तो सम्भव भएको हो। यो विधायन अनुसार वेल्सका सबै सार्वजनिक निकायले आज गरेका निर्णयकै कारण भोलिका वेल्स नागरिकले कुनै सम्झौता गर्नु नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ।

परिषद्, राष्ट्रिय पार्कदेखि स्वास्थ्य सेवासम्म सबैले आ–आफ्नो निर्णयको दीर्घकालीन सामाजिक, साँस्कृतिक, वातवरणीय र आर्थिक प्रभावबारे पार्टी र राजनीतिभन्दा बाहिर रहेर मनन गर्नु वैधानिक आवश्यकता बनेको छ।

‘सुन्दा सिधा र प्रष्ट लागे पनि हामीसँग यसतो प्रणाली छ जसलाई दशकौंदेखि यसको ठीक विपरीत काम गर्न निर्माण गरिएको छ,’ पाँच सन्तानकी आमा हाव भन्छिन्,‘मेरो काम त्यसलाई ठीक पार्नु हो।’

बेलाबेला गलत कारणका लागि समाचार बन्ने कार्डिफको विपन्न क्षेत्रमा हुर्केकी हाव विश्वविद्यालय जाने परिवारकी पहिलो सदस्य हुन्। उनले कानून र राजनीति अध्ययन गरिन् र २१ वर्षकै उमेरमा वेल्सकी सबैभन्दा कम उमेरकी निर्वाचित ‘काउन्सिलर’ बनिन्।

त्यसपछि उनले सार्वजनिक क्षेत्रमा काम गरिन्। उनी दक्षिण वेल्सको ‘डेप्युटी पुलिस एन्ड क्राइम कमिशनर’ पनि भइन्। ‘प्रणालीमा परिवर्तन ल्याउन, त्यसले कसरी काम गर्छ त्यो बुझ्नुपर्छ,’ उनी भन्छिन्।

निराशाजनक ‘साइलो मेन्टालिटी’लाई चुनौती दिन काम गरिरहेकी हाव आफूले काम गर्ने सार्वजनिक निकायलाई सम्भव भएसम्म सहकार्य गर्न प्रोत्साहन गर्छिन्। त्यसमा उनले केही सफलता पनि हात पारेकी छिन्।

‘कार्डिफको यातायात रणनीति सार्वजनिक स्वास्थ्य सम्बन्धी एक जना परामर्शदाताले नेतृत्व गरिरहेका छन्,’ उनले बताइन्। अनि परिणाम? 

‘नेक्स्टबाइक’ नामक सार्वजनिक ‘बाइक–शेयरिङ’ योजना लागु भएको छ। राष्ट्रिय स्वास्थ्य योजना (एनएचएस) मा आबद्ध बिरामीलाई यो सेवा निःशुल्क छ।

देशको रेलसेवामा पाँच अर्ब पाउण्ड स्टर्लिङ लगानी गर्ने ट्रान्सपोर्ट फर वेल्ससँग पनि हावले काम गरिरहेकी छिन्। स्टेशनमा ठूलो ‘रिटेल चेन’लाई मात्र प्रवेश दिनुभन्दा सामाजिक उद्यमका लागि पनि स्थान बनाउन हावले जोड दिइरहेकी छिन्।

ऐनले निर्धारण गरेका सिद्धान्तका आधारमा उनी सार्वजनिक निकायहरूको मुल्याङ्कन गर्छिन्। नियम उल्लंघन गर्नेलाई उनी सार्वजनिक गर्न पनि सक्छिन्। तर उनको भूमिका त्यति बलियो पनि छैन। गत मार्चमा यो प्रष्ट भयो। निथ पोर्ट टाल्बटस्थित काम र आफ्नो विद्यालय बन्द हुनबाट विधायनले रोक्न सकेन।

न्यूपोर्ट नजिकैको एमफोरका लागि एक अर्ब ४० करोड पाउण्ड स्टर्लिङ लागतको प्रस्तावित राहत सडक निर्माणको हाव विपक्षमा थिइन्। त्यसैले जुनमा उक्त परियोजना रद्द गर्ने निर्णय उनले स्वागत गरिन्। सडक प्राकृतिक आरक्षबीच भएर जाने तथा वायु प्रदुषण र जलवायु परिवर्तन बढाउने उनको तर्क थियो।

प्रकाशित मिति: : 2019-07-11 09:49:36

प्रतिकृया दिनुहोस्