भारतीय पत्रबारे प्रधानमन्त्रीद्वारा गल्ती स्वीकार, भने–मैले जानकारी पाउनुपर्थ्यो तर दिइएन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा क्षेत्रमा तरकारीलगायतका खाद्यान्नको प्रवेशका बारेमा हालै भारतबाट पत्र नआएको भनेको प्रसंगमा गल्ती स्वीकार गरेका छन् । 

सरकारले भारतबाट आउने तरकारी सीमा क्षेत्रमा परीक्षण नगरी स्वेदशमा भित्रिन नदिने निर्णय गरेकोमा भारतका तर्फबाट पत्र आएपछि सरकारले  खुला गरेको आरोप लाग्दै आएको छ । यसै प्रसंगमा नेकपाको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले के को पत्र ? कस्तो पत्र भन्दै त्यस्तो पत्र नआएको बताएका थिए । तर, सञ्चार माध्यममा नै भारतको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्रीले बुधबार राति भूल भएको स्वीकार गरेका हुन् । 

 
 
 

 

नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए, “अब एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कुटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।”

प्रधानमन्त्रीले आफूले प्रधानमन्त्रीको हिसाबले जानकारी पाउनुपर्थ्यो तर जानेर वा नजानेर जानकारी नदिइएको समेत गुनासो गरेका छन् । उनले एउटा यथार्थ आफूबाट लुकेको रहेछ भन्दै आफूले आएको छैन भन्दा जनतामा भ्रम पर्ने अवस्था उत्पन्न भएको  र विरोधीले प्रचार गर्ने अवसर पाएको समेत जनाए ।
प्रधानमन्त्रीले सीमा क्षेत्रमा परीक्षणका लागि आवश्यक जनशक्ति र साधन नभएकाले अहिलेलाई स्थगन गरिएको बताउँदै यो कदम कुनै देश लक्षित नभएको समेत जनाए । 

उनले भारतका राजदूततर्फ संकेत गर्दै राजदूतबाट नै भित्रभित्रै कुरा भएको पछि थाहा पाएको तर आफूले बोलेको बेलामा जानकारी नभएको समेत उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीको पछिल्लो भनाइले यति गम्भीर कुरापनि कसले प्रधानमन्त्रीलाई लुकाइरहेको रहेछ र कसरी मुलुकमा भएका यति गम्भीर मामिलामा पनि प्रधानमन्त्री नै जानकार नहुने अवस्था सिर्जना भइरहेको छ भन्ने प्रश्न भने उब्जिन पुगेको छ ।  उनले पहिला चाहिँ अमृत नै अमृत आउँथ्यो भने जस्तो गरेर अहिले चिकित्सक संघदेखि विभिन्न संघ संस्थाले आलोचना गरिरहेको बताउँदै  यो विषयमा सीमा क्षेत्रमा परीक्षण गर्नुपर्छ भनेर आफूले नै कुरा शुरु गरेको बताए । 

तर, जनशक्ति र सो सम्बन्धी यन्त्र नभएको र त्यसको तयारी गर्नुपर्ने भएकोले अहिलेलाई परीक्षण गर्न नपाइएको जनाए । पहिला परीक्षण नगरी तरकारी रोक्नुमा भने मन्त्रालयले अनुपयुक्त सूचना र त्यहीअनुसार प्रस्ताव ल्याएको र अलिकति झुक्किएको बताएका थिए ।

उनले भारत तर्फ संकेत गर्दै कुनै देशलाई मात्रै लक्षित गरेर यो प्रक्रिया नचालिएको उल्लेख गर्दै थाइल्याण्ड, बंगलादेश, अमेरिका, ब्राजिल लगायतका सबै राष्ट्रबाट आउने सामानको परीक्षण हुने जनाए उनले अहिले विष भित्र्याउन लागेको भनेर आफ्नो आलोचना गर्दै कोही राष्ट्रवादी पल्टिन खोजेपनि अहिलेकै सरकारले विश्व व्यापार संगठन (डब्ल्युटीओ)लाई पत्र पठाएर सबै सदस्य राष्ट्रलाई परीक्षण सम्बन्धी विषयमा भन्न आग्रह गरेको जनाएका छन् ।

उनले जहाँबाट आउने हो त्यता नै परीक्षण गरेको प्रमाणपत्र लिएर आएमा दोहोरो जाँच नगरिने उल्लेख गर्दै सीमा क्षेत्रमा अहिले नजाँचिएपनि भित्रिइसकेपछि पनि जाँच्न सकिने उल्लेख गरे । 

प्रकाशित मिति: : 2019-07-11 09:38:57

प्रतिकृया दिनुहोस्