'फास्ट ट्रयाक' लागत बढेपछि छलफल गर्न मन्त्रीसहित प्रधानमन्त्री पुगे सैनिक हेडक्वार्टर

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक। फाइल फोटो: सेतोपाटी।

फास्ट ट्रयाक अगाडि बढाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री ईश्वर पोखरेल, अर्थ मन्त्री, भौतिक योजना मन्त्री र प्रधानसेनापतिबीच सैनिक मुख्यालयमा छलफल भएको छ।

सेनाले कोरियन कम्पनीमार्फत् बनाएको डिपिआरमा पहिले आंकलन गरिएकोभन्दा लागत धेरै बढेपछि फास्ट ट्रयाकको लागत मूल्यलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली मन्त्रीहरूको टोलीसहित भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका थिए।

रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा डिपिआर पेश गरेको भए पनि लामो समयदेखि त्यो अघि बढेको छैन। मन्त्रिपरिषदमा केही मन्त्रीहरूले डिपिआरका विषयमा प्रश्न उठाएका थिए।

‘अर्थमन्त्रीसहित अरू मन्त्रीहरूले पनि लागतलगायतका विषयमा विभिन्न कुरा राख्नु भएको थियो,’ रक्षामन्त्री ईश्वर पोखरेलले सेतोपाटीसँग कुरा गर्दै भने, ‘डिपिआरलगायतमा विषयमा हामीले सैनिक मुख्यालयमा बसेर छलफल गर्यौं।’

भारतीय कम्पनीले केही वर्षअघि तयार पारेको फास्ट ट्रयाकको डिपिआरमा लागत १ खर्ब १२ अर्ब हुने आंकलन गरिएको थियो। कोरियन कम्पनी सुसुङले तयार पारेको डिपिआरपछि फास्ट ट्रयाक निर्माणमा झण्डै १ खर्ब लाग्ने देखिएको थियो। पछिल्लो डिपिआरमा लागत कति तोकिएको छ भन्ने ठ्याक्कै यकिन नभए पनि २ खर्बको वरिपरि भएको सैनिक स्रोतहरूले बताएका छन्।

कोरियन कम्पनीले तयार पारेको डिपिआर विस्तृत अध्ययनमा आधारितभन्दा पनि ‘टेबलमा बसेर पुरानो अध्ययनका आधारमा गरिएको विश्लेषण’ भएको भन्दै लागतको यथार्थ मूल्याकंन गर्नुपर्ने निष्कर्षमा बैठक पुगेको थियो।

‘खरिद प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउने हो भने डिपिआर राम्रो हुन जरुरी छ। अहिले तयार गरिएको डिपीआरमा पुरानै अध्ययनमा सुरुङलगायतको लागत थपेर मूल्य बढाइएको छ,’ स्रोतले भन्यो, ‘थप सर्वे र अध्ययन गर्न जरुरी छ ताकी ‘रिफरेन्स’ लागत तयार पार्न सकियोस्।' 

प्रकाशित मिति: : 2019-07-10 15:18:49

प्रतिकृया दिनुहोस्