हिमाल पारि तिब्बत पुग्ने हिउँचितुवा संरक्षण कसरी होला?

गौरीशंकर संरक्षण क्षेत्रकै रोलवालिङ उपत्यकामा पनि 'क्यामेरा ट्र्याप' जडान गरेर हिउँचितुवा र अन्य वन्यजन्तुबारे अध्ययन अनुसन्धानको क्रम अहिले चलिरहेको छ।

मध्य नेपालको गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिउँचितुवा रहेका नयाँ प्रमाण फेला परेपछि नेपाली संरक्षणकर्मी तथा अधिकारीहरू निकै हौसिएका छन्। तर हिमाली पर्यावरणीय स्वच्छताको प्रतीक मानिने त्यो प्रजातिको संरक्षणका लागि नेपालले अझै धेरै काम गर्न बाँकी रहेको तथ्य विज्ञहरूले औँल्याएका छन्।

गौरीशंकर संरक्षण क्षेत्रमा हालै पहिलो पटक दुर्लभ हिउँचितुवाको तस्बिर खिच्ने सफलता मिलेपछि विज्ञहरूले त्यो प्रजातिको दीर्घकालीन संरक्षणका लागि नेपालले हिउँचितुवाबारे विस्तृत अध्ययन गर्नुपर्ने बताउँदै, नेपालले हिमाली सीमा जोडिएका चीन र भारतसँग सहकार्य गर्नु पर्ने सुझाव दिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा हालै गरिएको अनुसन्धानको क्रममा गौरीशंकर संरक्षण क्षेत्रको तामाकोसी नदीको शिरतिर अवस्थित लप्ची उपत्यकामा ४,०८७ मिटरको उचाइमा 'क्यामेरा ट्र्यापिङ्' (क्यामेराको पासो थापेर स्वचालित रूपमा वन्यजन्तुको तस्बिर खिच्ने विधि) को क्रममा एक हिउँचितुवाको फोटो खिचिएको थियो।

हिमालपारी तिब्बतको चुमोलङ्मा प्रकृति आरक्षसँग सीमा जोडिएको गौरीशंकर संरक्षण क्षेत्रले प्रसिद्ध गौरीशंकर हिमालदेखि पूर्व र पश्चिमका उच्च हिमाली क्षेत्रलाई समेटेको छ।

मनाङमा देखिएको एक हिउँचितुवातस्वीर कपीराइटNTNC/TASHI R GHALE
नेपालका संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ।

नेपालको हिमाली क्षेत्रमा पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रसम्म फैलिएका १२ वटा संरक्षित क्षेत्रहरूमा हिउँचितुवाको बासस्थानहरू रहेको विज्ञहरू बताउँछन्।

ती संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ।

तर नेपालमा अहिलेसम्म हिउँचितुवाको देशव्यापी अध्ययन भने भएको छैन।

प्रकाशित मिति: : 2019-07-10 09:22:35

प्रतिकृया दिनुहोस्