बिग मर्जरले सेयर बजारलाई देला त ‘बिग बुस्ट’?

तस्बिरः अनलाइनखबर

२४ असार, काठमाडौं । वित्तीय बजारमा ठूला बैंकहरुको मर्जर (बिग मर्जर) को चर्चा चलिरहदा सेयर बजारमा समेत यसको प्रभाव देखिन थालिसकेको छ । नेपालमा बैंंकिङ क्षेत्रले सेयर बजारको ठूलो हिस्सा ओगटेका कारण पनि बैंक मर्जरको चर्चा चल्दा प्रत्यक्ष प्रभाव परेको हो ।

बिग मर्जरको चर्चा चलेसँगै सेयर बजारमा बाणिज्य बैंकहरुको कारोबार उच्च भएको छ । आइतबार र सोमबार बजारमा धेरै कारोबार हुनेहरुको शीर्ष स्थानमा वाणिज्य बैंकहरु नै परे । मंगलबार पनि सेयर बजारमा वाणिज्य बैंकको वर्चश्व देखिएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जर सम्झौता नै भइसकेपछि लगानीकर्ताहरु थप उत्साहित भएका छन् । लगानीकर्ताहरुको ओइरो यतिबेला वाणिज्य बैंकमै लागेको छ ।

शीर्ष १० मा वाणिज्य बैंक मात्रै

शुक्रबार ग्लोबल र जनताले सम्झौता गरेपछि पहिलोपटक खुलेको आइतबारको कारोबारमा बाणिज्य बैंकको वर्चश्व देखियो । नेप्से परिसूचक भने ओरालो लाग्यो । धेरै लगानीकर्ताहरुले लगानी गुमाए । वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण भने अत्यधिक देखियो ।

आइतबार ५४ करोड ४ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । जसमध्ये दश वाणिज्य बैंकको २७ करोड ७३ लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको थियो । यो कूल कारोबारको ५१ प्रतिशत भन्दा बढी हो । कारोबार रकमका आधारमा सिभिल बैंक पहिलो स्थानमा देखिएको थियो । आइतबार सिभिलको करिब ६ करोड रुपैयाँको हाराहारीमा सेयर कारोबार भयो ।

सिभिलपछि दोस्रोमा मेगा देखियो भने तेस्रोमा नेपाल बैंक । यि दुबै बैंकहरुको ४ करोड माथिको कारोबार भयो । त्यसपछि क्रमशः सेञ्चुरी कमर्सीयल, कुमारी बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक र सानिमा बैंक कारोबार रकमका आधारमा उच्च स्थानमा पर्न सफल भए ।

आइतरबार देखिएको यो क्रम सोमबार पनि जारी रहृयो । सोमबार बढी कारोबार भएका १० कम्पनीमध्ये ९ कम्पनी त बाणिज्य बैंकहरु मात्र थिए । सोमबार सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको थियो ।

 

 

प्रकाशित मिति: : 2019-07-09 17:22:18

प्रतिकृया दिनुहोस्